सरकारले तोकेको पारिश्रमिकको माग गर्दै मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालका नर्सहरु आन्दोलनमा
काठमाडौँ, २८ असोज । आफूहरुमाथि चरम श्रम शोषण भएको भन्दै पोखरास्थित मणिपाल कलेज शिक्षण अस्पतालका नर्स तथा प्यारामेडिक्सहरु काम छाडेर आन्दोलनमा उत्रिएको पाँच दिन भयो तर अझै रोकिने छाँट छैन ।
विरोधका स्वरहरु बढ्दै जाँदा अस्पताल प्रशासनले बार्ताको प्रयास त थालेको छ तर आन्दोलनरत पक्षहरु ल्याइएका नयाँ प्रस्ताव मान्ने पक्षमा अझै देखिएका छैनन् ।
‘हामीले अरु केही भनेका होइनौँ सरकारले तोकेको हाम्रो न्युनतम पारिश्रमिक दिनुहोस् भनेका हौँ,’आन्दोलनरत पक्षको एक जना सदस्य रोशनी गुरुङले भनिन् । उनले स्टाफ नर्स (पाँचौँ तह)को तलव सरकारले ३४ हजार ७३० रुपैयाँ तोकेको भए पनि आफूहरु त्यसको आधा भन्दा कम रुपैयाँमा सेवा दिन बाध्य भइरहेपछि आवाज उठाएको बताईन् ।
अर्की एक जना नर्सले थपिन, मणिपालमा कसैलाई ९ हजार ३००, कसैलाई १० हजार ५०० रुपैयाँ बेसिक स्यालरी भनेर तोकिएको छ । नाइट डिउटी भत्ता १२५ रुपैयाँ तोकिएको छ । रातीको १० १२ घण्टा काम गरेर १२५ रुपैयाँ जायज हो त ?
उनले तलव तथा भत्ता गरेर खातामा १५ १६ हजार रकम आउने गरेको बताईन् ।
नेपाल नर्सिङ एसोसिएसनका रमेश सुब्बा आन्दोलनरत नर्सहरुको माग र वस्तुस्थिति बुझ्न पोखरा पुगेका थिए । उनले पनि नर्समाथि श्रम शोषण भएको बताए ।
‘डिउटी आवर, बिरामीको लोड कति हो कति, तर सुविधा भने लाजमर्दो छ । एउटा नर्सले आइसीयूमा ५ ६ जना बिरामी हेर्नु पर्दो रहेछ, जनरल वार्ड तिर त २५, ३० जना बिरामी हेर्नु पर्ने । तर सुविधा भने दशैं पेस्की पनि बेसिक तलवबाट एक एक हजार कटाएर दिदो रहेछ । यो त अन्याय भयो । अब बेसिक तलव सोध्नुहुन्छ भने लाजमर्दो नै छ,’ उनले भने ।
अस्पताल भन्छ, ‘तलव सुविधा बढाउने निर्णय भएको छ’
मणिपाल मेडिकल कलेजले नर्सहरुको आन्दोलनपछि तलव सुविधा बढाउने निर्णय भएको बताएको छ । अस्पताल प्रशासनले नयाँ प्रस्ताव गरेको तलव अनुसार एक वर्ष अनुभव भएको बीएस्सी र बीएन स्टाफ नर्सको तलव २९ हजार ५८७ रुपैयाँ गर्ने भनिएको छ ।
यस्तै पीसीएल स्टाफ नर्स एक वर्ष अनुभवीलाई २८ हजार ५८७ रुपैयाँ र सीएमए अनमीहरु जो एक वर्ष अनुभवी छन्, उनीहरुको २६ हजार ५८७ रुपैयाँ तोक्ने निर्णय भएको बताइएको छ । कलेजले फ्रेस स्टाफ नर्सको तलव २४४ हजार २८७ रुपैयाँ तोकिएको समेत उल्लेख गरेको छ ।
कलेज सञ्चालक शान्तराज बतासले नयाँ प्रस्तावमा अधिकांश नर्सहरुले समर्थन जनाएको बताएका छन् ।
तर आन्दोलनरत नर्स मध्येकी एक गुरुङले अस्पताल प्रशासनको नयाँ प्रस्तावलाई आन्दोलनरत पक्षले अस्विकार गरेको दावी गरेकी छन् ।
अस्पतालमा कार्यरत २८० बढी नर्सहरु आन्दोलनमा हुँदा बिरामीहरुको उपचारमा समेत असर परेको छ । अहिले अस्पतालमा भर्ना गरिएका कतिपय बिरामीहरुलाई अन्यत्र रिफर गरिएको छ भने, आईसीयू जस्ता सम्वेदनशील युनिटमा नर्सिङ इन्चार्जहरुले काम गरिरहेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]