जेनजी आन्दोलनका घाइतेहरुको बर्गीकरण गर्न १० सदस्यीय प्राविधिक समिति गठन
काठमाडौँ, २८ असोज । जेनजी आन्दोलनका घाइतेहरुको बर्गीकरण गर्न विज्ञ सम्मिलित १० सदस्यीय प्राविधिक समिति गठन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० सदस्यीय समिति गठन भएको हो ।
यसअघि गत १२ असोजको मन्त्रिपरिषद् बैठकले २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको बर्गीकरण गर्न विज्ञ सम्मिलित प्राविधिक समिति गठन गर्ने निर्णय गरेको थियो । सो बैठकले विज्ञ तोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयले डा. शर्माको संयोजकत्वमा १० सदस्यीय प्राविधिक समिति गठन गरेको हो ।
मन्त्रालयका अनुसार समितिको सदस्यहरुमा डा विनोद शेरचन हाडजोर्नी रोग विशेषज्ञ राष्ट्रिय ट्रमा सेन्टर, डा गोपाल सेडाईं स्नायु रोग विशेषज्ञ त्रिवि शिक्षण अस्पताल, डा अनिल जिसी नाक कान घाँटी रोग विशेषज्ञ वीर अस्पताल, डा सुमन थापा जनरल मेडिसिन विशेषज्ञ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, डा शंकर ठाकुर आँखा रोग विशेषज्ञ वीर अस्पताल रहेका छन् ।
यस्तै डा रविन पण्डित शल्य चिकित्सक विशेषज्ञ निजामती कर्मचारी अस्पताल, डा इश्वरी खनाल मानसिक रोग विशेषज्ञ मानसिक अस्पताल, सुप्रभा ढुंगेल उपसचिव गृह मन्त्रालय रहेका छन् । स्वास्थ्य मन्त्रालयका उपसचिव ईश्वरी प्रसाद ढकाललाई सदस्य सचिव तोकिएको छ ।
संयोजक डा. शर्माले यो समितिमा जेनजी प्रतिनिधि पनि थपिने बताए ।
गत २३ र २४ भदौमा भएको जेनजी नेतृत्वको आन्दोलनमा २ हजार ३९६ जना घाइते भएका थिए । आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
संयोजक शर्माले घाईतेको बर्गिकरण गर्नका लागि विज्ञसहितको टोलीले कार्यविधि बनाएर काम सुरु गर्ने बताए । ‘हामीले सुरुमा कार्यविधि बनाउँछौँ, त्यसपछि के कस्ता अवस्थाका कति घाइते छन् र तिनिहरुलाई के गर्ने भन्ने विषयमा सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाउने छ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]