प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठलाई जन्मथलो बाग्लुङमा सम्मान
काठमाडौँ, २६ असोज । बरिष्ठ प्रत्यारोपण सर्जन तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ आफनो जन्मथलो बागलुङमा पुरस्कृत तथा सम्मानित भएका छन्। डा. तरूण पौडेल चिकित्सा कोषको १३ औं वार्षिकोत्सव एवं १० औ पुरस्कार समारोहका अवसरमा शुक्रबार डा श्रेष्ठलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
बाग्लुङमा जन्मिएका श्रेष्ठले नेपालको अङ्ग प्रत्यारोपण तथा चिकित्सा सेवाका क्षेत्रमा विशिष्ठ योगदान गरेको भन्दै पुरस्कृत गरिएको हो । सो अवसरमा बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ, साहित्यकार काजी रोशन तथा कोषका संस्थापक तथा संरक्षक डा तरुण पौडेल लगायतद्धारा उनलाई दोसल्ला, फूलमालाले सम्मान गर्दै नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । हुन पनि डा श्रेष्ठले मानव अंग प्रत्यारोपण क्षेत्रमा निरन्तर ३३ देखि योगदान गर्दै आएका छन् ।
सोही समारोहमा डा श्रेष्ठसँगै नवजात शिशुलाई मुखबाट स्वास दिई ज्यान बचाउने स्वास्थ्यकर्मी जानकी पुजारी, त्यसैगरी लेखनाथ नगरपालिकाका स्थानीय अस्पताललाई १९ रोपनी जग्गा दान गर्ने रेवती रमण पौडेल र बुटवलबाट समाजसेजी अनुप सैंजुलाई पनि सम्मान गरिएको थियो ।
सम्मान पछि बोल्दै डा. श्रेष्ठले बागलुङसँग आफ्नो गहिरो आत्मियता रहेको भन्दै आजसम्मको उपलव्धी पनि बाग्लुङकै दाजुभाई दिदीबहिनीहरुलाई जाने बताए । उनले अंगदानको महत्वबारेमा प्रकाश पार्दै स्वस्थ्य हुँदा वा मृत्यु पश्चात अंगदान गर्न सबैलाई आह्वान गरे ।
डा. पुकार अध्ययन गरेको बिद्यामन्दिर माविमा विशेष स्वागत
यसै गरी बागलुङस्थित बिद्यामन्दिर माध्यमिक विद्यालयमा एक विशेष समारोहका बीच विद्यालयका पूर्वविद्यार्थी तथा शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका पूर्व कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ र उनकी धर्मपत्नी नबिना श्रेष्ठलाई विशेष स्वागत समेत गरिएको थियो ।
उक्त स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीजय श्रेष्ठ, बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष शनि केसी लगायतको उपस्थिति रहेको थियो ।
डा. श्रेष्ठले आफ्नो बाल्यकालका स्मृतिहरू बाँड्दै सन् २०३४ सम्म यसै विद्यालयको विद्यार्थी भएको उल्लेख गरे । साथै, विद्यालयका लागि आगामी दिनहरूमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनकी धर्मपत्नी नबिना श्रेष्ठले विद्यालयको वातावरण र व्यवस्थापनको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाको आवश्यकता र महत्वमा जोड दिइन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीजय श्रेष्ठले यस्ता प्रेरणादायी भेटघाटहरूले विद्यालयको शैक्षिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
सम्पर्क इमेल : [email protected]