विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठक तीन दिन पछि कोलम्बोमा सुरु हुँदै, के-के छन् बैठकका मुख्य एजेण्डा ?

काठमाडौँ, २४ असोज । आगामी सोमबारबाट श्रीलंकाको राजधानी कोलम्बोमा विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७८ औँ बैठक सुरु हुँदै छ । बुधबारसम्म चल्ने सो बैठकबाट निर्णय गर्न दुईवटा मुख्य एजेण्डा अघि सारिएको छ ।
त्यसमा पहिलो एजेण्डाको रुपमा प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ गर्दै स्वस्थ वृद्धावस्था सुनिश्चित गर्ने रहेको छ । यस्तै धुवाँरहित सुर्र्तीजन्य पदार्थ नियन्त्रण गर्नु दोस्रो एजेण्डामा राखिएको छ ।
सोही अवसरमा सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूले दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष बिस्तार र एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) अर्थात् प्रतिजैविक प्रतिरोध विरुद्धको कार्यलाई द्रुत गतिमा अघि बढाउने विषयमा पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयसस, विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा क्याथरिना बोहम तथा अन्य विज्ञहरूले यस तीन–दिने बैठकमा सहभागिता जनाउने भएका छन् । साथै बैठकले आगामी वर्षहरूका लागि क्षेत्रीय स्वास्थ्यका नयाँ एजेण्डाहरु तय गर्ने बताइएको छ ।
यसैगरी क्षेत्रीय शासकीय निकायको बैठकले प्राथमिकतामा रहेका स्वास्थ्यका विषयहरूमा प्रस्ताव पारित गर्ने र अघिल्ला वर्षका निर्णयहरूको प्रगति समीक्षा गर्ने समेत अपेक्षा गरिएको छ ।
दुई मुख्य एजेण्डा र अपेक्षा
सदस्य राष्ट्रहरू र विश्व स्वास्थ्य संगठन स्वस्थ वृद्धावस्थासम्बन्धी घोषणापत्र पारित गर्ने अपेक्षा गरिएको छ । स्वस्थ वृद्धावस्थामा केन्द्रित हुने यो छलफल यस क्षेत्रको वृद्ध जनसंख्यामा भएको तीव्र वृद्धिलाई ध्यानमा राखेर गरिएको हो । सन् २०५० सम्ममा ६० वर्षभन्दा माथिका व्यक्तिहरूको अनुपात २०.९ प्रतिशत पुग्ने अनुमान छ, जुन सन् २०२४ मा ११.३ प्रतिशत मात्र थियो ।
वृद्धावस्था रोक्न नसकिने भए पनि, स्वास्थ्य तथा सामाजिक प्रणालीहरूले यस जनसांख्यिकीय परिवर्तनलाई लाभमा रूपान्तरण गर्न पूर्ण रूपमा तयार हुन आवश्यक छ ।
बैठकले धुवाँरहित सूर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक सिगरेट (विद्युतिय चुरोट), निकोटिन पाउच र सुपारीको प्रयोग नियन्त्रणका रणनीतिहरूमाथि छलफल गर्नेछ । यस क्षेत्रमा संसारभरका कुल सूर्तीजन्य पदार्थ सेवनकर्तामध्ये एक–तिहाइ प्रयोगकर्ता रहेका छन् भने २८ करोडभन्दा बढी वयस्कले धुवाँरहित सूर्तीजन्य पदार्थ प्रयोग गर्छन् र तीमध्ये करिब १ करोड १० लाख किशोरकिशोरी छन् ।
इलेक्ट्रोनिक सिगरेट, निकोटिन पाउच जस्ता नयाँ उत्पादनहरूको बढ्दो प्रयोग तथा सुपारीको व्यापक सांस्कृतिक प्रयोगले यो चुनौतीलाई थप जटिल बनाएको छ ।
प्राकृतिक विपत्तिको जोखिममा रहेको यस क्षेत्रले सन् २००८ मा स्वास्थ्य आपतकालीन अवस्थापछि तत्काल जीवनरक्षक सहयोग गर्नका लागि आफ्नै क्षेत्रीय आपतकालिन कोष – दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष स्थापना गरेको थियो । यसले हालसम्म १० सदस्य राष्ट्रका ४९ वटा आपतकालीन अवस्थाहरूमा सहयोग पु¥याएको छ । सन् २०१६ मा यस कोषको म्यान्डेटलाई विस्तार गरी आपतकालीन पूर्वतयारीसमेत समावेश गरिएको थियो ।
यस्तै प्रतिजैविक प्रतिरोध-एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर)विरुद्धका क्षेत्रीय नीतिगत कार्यहरूलाई विश्वव्यापी प्रतिबद्धतासँग समायोजन गर्दै यसलाई तीव्र बनाउनु बैठकको अर्को प्राथमिकता हुनेछ । संयुक्त राष्ट्रसंघ महासभाको एन्टिमाइक्रोबियल रेजिस्टेन्ससम्बन्धी राजनीतिक घोषणापत्र लगायतका हालैका उपलब्धिहरूले यस क्षेत्रमा नयाँ गति र अवसरहरू सिर्जना गरेका छन् ।
करिब २ अर्ब जनसंख्या रहेको दक्षिण–पूर्वी एसिया क्षेत्रले मानसिक स्वास्थ्य, आरोग्यता र जीवनस्तर प्रवद्र्धन; महिला, बालिका, किशोर–किशोरी र जोखिममा रहेका व्यक्तिहरूमाथि लगानी; प्रविधि र नवप्रवर्तन; र क्षमता विकास, ज्ञान व्यवस्थापन तथा अनुसन्धानलाई प्राथमिकता दिएको छ ।
यसको लक्ष्य सबै व्यक्तिको स्वास्थ्य र आरोग्यतालाई प्रवद्र्धन गर्नु, स्वास्थ्य सेवा प्रदान गर्नु र स्वास्थ्य सुरक्षा गर्नुका साथै स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्यहरू हासिल गर्नका लािग पुनः सही दिशामा अगाडी बढाउन आवश्यक कार्यहरूलाई सशक्तत बनाउनु भएको बताइएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

