शरीरको प्रतिरोध प्रणालीबारे खोज गर्ने तीन वैज्ञानिकलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार
काठमाडौँ । शरीरको प्रतिरोध प्रणालीबारे खोज गर्ने तीन वैज्ञानिकलाई यसवर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।
शरीरको प्रतिरोध प्रणालीमा ‘रेग्यलेटरी टी-सेल’ भनिने विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाएकाले मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र शिमोन साकागुचीलाई सन् २०२५ को पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार समितिले सोमबार जनाएको छ।
ब्रन्को र र्याम्स्डेल संयुक्त राज्य अमेरिकाका हुन् भने साकागुची जापानका हुन्।
उनीहरूको कार्यबाट अनुसन्धानका लागि नयाँ क्षेत्रको ढोका खुलेको मानिएको छ ।
नोबेल समितिका अनुसार उनीहरूले उजागर गरेका तथ्यहरूले अहिले परीक्षण हुँदै गरेका विभिन्न चिकित्सकीय उपचारविधिलाई सुदृढ बनाउन सक्छन्।
यसबाट अटोइम्यून रोगहरूको उपचार गर्न सकिने, क्यान्सरको उपचारलाई अझ प्रभावकारी बनाउन सकिने र स्टेम सेल प्रत्यारोपण गर्दा उत्पन्न हुन सक्ने गम्भीर जटिलतालाई रोकथाम गर्न सकिने ठानिएको छ।
विजेताले संयुक्त रूपमा १-१ करोड स्वीडिश क्रोनर नगद पुरस्कार र पदक पाउने छन्।
अहिलेसम्म ११६ पटक चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भएको छ।
प्रत्येक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी छ विधामा नोबेल पुरस्कार प्रदान गरिन्छ।
नोबेल पुरस्कार समितिका अनुसार विगत १२ महिनामा ूमानव जातिका लागि उच्चतम लाभ हुने काम गरेकाू व्यक्तिलाई ती पुरस्कारबाट सम्मानित गरिन्छ।
स्वीडिश व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले यी पुरस्कारहरू स्थापना गरेका थिए। उनले आफ्नो अधिकांश सम्पत्ति पुरस्कार दिने उद्देश्यले कोष स्थापना गरी त्यसमा राखेका थिए।
सन् १९६८ मा स्वीडनको केन्द्रीय ब्याङ्कले अर्थशास्त्रका लागि छुट्टै पुरस्कारको स्थापना गरेको थियो।
नोबेल पुरस्कार सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको थियो।
सम्पर्क इमेल : [email protected]