न्याम्सका आवासीय चिकित्सकको रोकिएको निर्वाह भत्ता निकासा, डिउटीमा फर्किए चिकित्सक

काठमाडौँ, १० असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतका आवासीय चिकित्सकहरुको तीन महिना देखि रोकिएको निर्वाह भत्ता निकासा भएको छ । निर्वाह भत्ता निकासा भएपछि ओपिडी बन्द गरेर धर्नामा बसेका आवासीय चिकित्सकहरु आफ्नो डिउटीमा फर्किएका छन् ।
यसअघि चिकित्सा शिक्षा आयोगबाट रकम नआएको भन्दै न्याम्सले भत्ता रोकेको थियो । तीन महिना देखिएको निर्वाह भत्ता नपाएको भन्दै वीर, प्रसूती, कान्ति, राष्ट्रिय ट्रमा सेन्टर लगायत न्याम्स अन्तर्गतका आवासीय चिकित्सकआज विहान देखि उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको कार्यकक्ष अघि धर्नामा बसेका थिए ।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका उपाध्यक्ष डा बुद्धिमान तामाङले निर्वाह भत्ताको विषयमा भएको पटक (पटकको वार्ता प्रशासनको गैरजिम्मेवारीपनका कारण परिणामुखी हुन नसकेको भन्दै धर्नामा बस्न बाध्य भएको बताएका थिए ।
‘खासमा आयोगबाट भत्ता निकासा भएको थिएन, हामीले हिजो नै पनि आयोगमा गएर छिटो निकासा गर्न भनेका थियौँ, रेजिडेन्सका प्रतिनिधिहरु पनि जानु भएको रहेछ । आयोगले आज रकम निकासा गरिदियो । हामीले बक्यौँता रकम सम्वन्धित आवासीय चिकित्सकको खातामा हालिदिई सक्यौँ । उहाँहरु (आवासीय चिकित्सक) पनि अब आ आफ्नो डिउटीमा फर्किसक्नु भयो,’ उपकुलपति प्राडा बस्नेतले भने ।
हाल न्याम्स अन्तर्गत कार्यरत्त आवासीय चिकित्सकले मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने गरेको छ । न्याम्स अन्तर्गत विभिन्न अस्पतालमा गरी ४०० बढी आवासीय चिकित्सक कार्यरत छन् ।
सम्पर्क इमेल : [email protected]