जेनजी आन्दोलन : अझै पनि १८ वटा अस्पतालमा ५७ जना घाइते उपचाररत

36
Shares

काठमाडौँ, ९ असोज । गत २३ र २४ भदौमा भएको जेनजी नेतृत्वको आन्दोलनमा घाइते भएका २ हजार ३१६ जनामध्ये ५७ जना अझै पनि अस्पतालमा उपचाररत छन् ।

घाइतेको उपचारका लागि समन्वय गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई (एचईओसी)ले पछिल्लो विवरण सार्वजनिक गरेको हो ।

एचईओसीका अनुसार बुधबार अरान्ह ४ बजेसम्म काठमाडौँ उपत्यका र उपत्यका बाहिरका कुल १८ वटा अस्पतालमा ५७ जना घाइतेको उपचार भइरहेको छ ।

त्यसमा सबैभन्दा बढी काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा २० जना घाइतेको उपचार भइरहेको छ । यस्तै काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगलमा ८ जना, त्रिवि शिक्षण अस्पतालमा ७ जना, पाटन अस्पतालमा ४ जनाको उपचार भईरहेको छ ।

आन्दोलनको पहिलो दिन २३ भदौको इपिसेन्टर रहेको नयाँ बानेश्वरको सिभिल सर्भिस अस्पतालमा अहिले २ जनाको उपचार जारी छ । यस्तै नेपाल पुलिस अस्पताल, कीर्तिपुर अस्पताल, बीएण्डबी अस्पताल ग्वार्को, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा समान २ – २ जनाको उपचार भइरहेको छ ।

यस्तै वीर अस्पताल, नेपाल मेडिसिटी अस्पताल, मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, कोशी अस्पताल बिराटनगर, नोबेल मेडिकल कलेज बिराटनगर, बिराट मेडिकल कलेज, बिराट नर्सिङ होम, गण्डकी मेडिकल कलेज पोखरा, भेरी अस्पताल नेपालगञ्जमा १-१ जना उपचाररत छन् ।

मन्त्रालयले उपचार पछि २ हजार १२८ जना डिस्चार्ज भएको, ८४ जना विभिन्न अस्पतालहरुबाट विशेषज्ञ सेवाका लागि रिफर गरिएको जनाएको छ ।

यस्तै मन्त्रालयले अहिलेसम्म अस्पतालमा आएका र ल्याउने क्रममा बाटोमा मृत्यु भएकाहरुको संख्या ४८ जना रहेको उल्लेख गरेको छ । यसमा आगलागीमा परि मृत्यु भएकाहरु, जेलबाट भाग्ने क्रममा गोली लागि मृत्यु भएकाहरुको विवरण समेटिएको छैन ।

यता गृह मन्त्रालय भने मृतकको संख्या ७४ पुगेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *