जेनजी आन्दोलनका घाइते : ट्रमा सेन्टरमा २३ जना अझै उपचाररत, एक जनाको अवस्था गम्भीर

28
Shares

काठमाडौँ, ७ असोज । गत २३ भदौमा सुरु भएको जेनजी नेतृत्वको आन्दोलनमा गम्भीर घाइते भएकामध्ये २३ जना अहिले पनि राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । ती मध्ये एक  जनाको अवस्था गम्भीर छ । उनलाई भेन्टिलेटरमा राखिएको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ ।

सेन्टरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा बद्री रिजालका अनुसार जेनजी आन्दोलन भएको २३ र २४ भदौका दिन भएको झडप तथा हुलदंगामा परेका १२७ जना गम्भीर घाइतेहरु त्यहाँ भर्ना गरी उपचार गरिएको छ । चिन्ताजनक अवस्थामा ल्याइएका ८ जनाको अस्पताल छिराउँदा छिराउँदै र उपचारका क्रममा निधन भएको थियो ।

‘त्यसबेला सामान्य चोटपटक लागेर आउनेको त हिसाव नै भएन । सयौँ नै थिए । जो आकस्मिक कक्ष र त्यस वरपर सामान्य उपचार गरि उति खेरै गए । उनीहरुको रेकर्ड राख्न पनि सकिएन । तर भर्ना भएका १२७ जनाको चाहि रेकर्ड छ । ती मध्ये प्राय सबैको शल्यक्रिया गरिएको छ र गरिदै छ,’ उनले भने ।

डा. रिजालका अनुसार घाइते मध्ये अधिकांशको मेजर शल्यक्रिया र कतिपयको पटक पटक शल्यक्रिया गर्नुपर्ने अवस्थाका रहेका छन् । अधिकांशलाई गोली लागेर र अन्य कारणले चोट पटक लागेर आएकाहरु छन् ।

अहिलेसम्म ट्रमामा भर्ना भएका एक जनाको संक्रमण बढेर खुट्टा काटिएको (इम्पुटेसन) छ । अरु केहीको गम्भीर अवस्थामा भास्कुलर शल्यक्रिया गरिएको छ । हातखुट्टा भाचिएर पाता राख्नु पर्ने अवस्थाका थुप्रै घाइेतहरु थिए र छन् । गोली अडकेको र गोलीका छर्रा लागेकाहरु पनि थुप्रै छन् ।

केही घाइतेहरुको शल्यक्रिया गर्नका लागि घाउ ओभाउनु पर्ने भएकाले रोकिएको छ । ‘कतिपय अवस्थामा घाउ निको भएपछि शल्यक्रिया गर्नु पर्ने हुन्छ । त्यसैले पर्खिएको केश पनि छ । कतिपयको छर्राहरु शरीरमै राखिएको अवस्था पनि छ । मुख्य अङ्गमा परेको छैन र त्यसले खासै असर गर्ने जस्तो देखिदैन भने हामीले त्यसलाई निकाल्दैनौँ,’ उनले भने ।

डा. रिजालले ट्रमामा आएका अधिकांश घाइतेहरको उमेर १८ देखि ३५ वर्ष बीचको रहेको जानकारी दिए ।

जेनजी नेतृत्वको आन्दोलनमा देशभर तीन जना सुरक्षाकर्मी सहित ७४ जनाको मृत्यु भएको छ । आन्दोलनमा २ हजार  बढी घाइते भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *