दैलेख अस्पतालमा बिरामीको चाप बढ्दो, बेड अभावले उपचारमा समस्या

24
Shares

काठमाडौँ, ७ असोज । जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ ।

बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ ।

तर दैनिक एक सय ५० भन्दा बढी बिरामी उपचार गर्न आउन थालेपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले बताए ।

‘संरचना अभावमा बेड राख्ने ठाउँ छैन, बिरामीलाई भुइँमा म्याट र कुर्ची राखेर उपचार गर्नुपर्ने बाध्यता छ’, उनले भने । नयाँ भवन निर्माण गर्न थालेको चार वर्ष भएपनि सम्पन्न हुन सकेको छैन ।

कर्णाली प्रदेश सरकारको १८ करोड २४ लाखको लागतमा उक्त भवन बन्दै छ । भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको प्रमुख विश्वकर्माले बताए ।

अस्पताल भवन निर्माणको सम्पूर्ण प्राविधिक पक्ष हेर्दै आएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला र निर्माणमा संलग्न क्याराभान सुपरस्टार जेभी निर्माण कम्पनीको लापरवाहीले भवन समयमै नबनेको आरोप छ ।

निर्माणमा संलग्न कम्पनीका सञ्चालक तारा शाहले विभिन्न कानूनी अल्झन तथा रुख कटानको समस्याले समयमै भवन निर्माण कार्यले गति लिन नसकेको बताए ।

जिल्ला अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीले गत वर्ष जेठभित्र भवन निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको बताए । उनले भवन निर्माण गर्न पटक पटक म्याद थप गर्न नसकिने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *