नेपालको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड’


काठमाडौँ, ६ असोज ।  नेपालको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (एफसीएचवी) कार्यक्रमले दक्षिण पूर्वी एसिया क्षेत्रको पब्लिक हेल्थ च्याम्पियन अवार्ड प्राप्त गरेको छ ।

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो)ले यसै वर्ष स्थापना गरेको यो अवार्डबाट एफसीएचवी सहित भारतका डा सत्येन्द्र सिंह र लेप्रा सोसाइटी पनि सम्मानित भएको छ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (एफसीएचवी) कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधारसंगै खोप कभरेज बढाउने, बालबालिकालाई पोषण बढाउनुका साथै नेपालको स्वास्थ्यको पहुँच नपुगेका विपन्न समुदाय तथा दुर्गम स्थानमा समेत पुगेर रोगको प्रकोप तथा महामारी नियन्त्रणका लागि परिवर्तनकारी भूमिका खेलेको भन्दै सम्मान गरेको बताइएको छ ।

हुन पनि नेपालमा सन् १९९० मा प्रति एक लाख जिवित जन्ममा ९०१ रहेको मातृ मृत्युदर सन् २०२१मा आउँदा घटेर १५१ मा झरेको छ । बाल मृत्युदर प्रति हजारमा १६२ बाट घटाएर २८ मा झरेको छ । डब्लुएचओ सेरोले यस्तो प्रगती हासिल हुनुमा एफसीएचवीको महत्वपूर्ण भूमिका रहेको बताएको छ । उसले एफसीएचभीलाई कम लागतमा र उच्च उच्च प्रतिफल छाड्न सफल र विश्व जगतले समेत अनुकरण गर्न सक्ने कार्यक्रमको रुपमा व्याख्या गरेको छ ।

यस्तै युनिभर्सिटी कलेज अफ मेडिकल साइन्सेज तथा जीबीटी अस्पताल दिल्लीमा फिजियोलोजीका निर्देशक रहेका डा सत्येन्द्र सिंहलाई स्वास्थ्य प्रणाली तथा चिकित्सा शिक्षामा विकलांगहरुको सहभागितालाई बढावा दिनका लागि छनौट गरिएको बताइएको छ ।

यस्तैे सन् १९८९ मा भारतमा एक गैर सरकारी संस्थाको रुपमा स्थापित लेप्रा सोसाइटी कुष्टरोगको उपचारका लागि क्लोफफाजिमाइनको विकास, मल्टीड्रग थेरापी र अल्सर रोग रोकथामको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । यो संस्थाले अहिले भारतको ९ वटा राज्यको १४३ जिल्लामा १४६ वटा स्वास्थ्य सेवा केन्द्रको माध्यमबाट सेवा दिदै आएको बताइएको छ ।

डब्लुएचओ सेरोले गएको जुन महिनामा पब्लिक हेल्थ च्याम्पियन पुरस्कारको स्थापना गरेको हो । जनस्वास्थ्यमा उल्लेखनीय योगदान गर्ने व्यक्ति तथा संस्थालाई यो पुरस्कार प्रदान गरिन्छ ।

डब्लुएचओले यो पुरस्कारका लागि नेपाल सहित बंगलादेश भारत र थाइल्याण्डबाट ५० भन्दा बढीको नाम प्राप्त भएको बताएको छ ।

आज घोषित पुरस्कार श्रीलंकाको कोलम्बोमा हुने डब्लुएचओ सेरोको क्षेत्रीय समितिको ७८ औँ बैठकको अवसरमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिने जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *