जेनजी आन्दोलन : १९६ जना घाइतेको ३२ वटा अस्पतालमा उपचार हुँदै
कुल २ हजार ३१६ घाईते मध्ये १ हजार ९५९ जना उपचार पछि डिस्चार्ज

काठमाडौँ, २ असोज । जेनजी आन्दोनलका क्रममा घाइते भएका १९६ अहिले पनि उपचारमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाईले गत २३ र २४ भदौमा भएको आन्दोलनका घाइतेहरुको उपचार गरिरहेका विभिन्न अस्पतालमा सम्पर्क गर्दा बुधबार बेलुकासम्म १९६ जना घाइते उपचारमा रहेको थाहा भएको हो ।
अस्पतालमा उपचारका लागि आएर मृत्यु हुने घाइतेको संख्या ४८ पुगेको छ ।
यद्धपी गृह मन्त्रालयले अहिलेसम्म ७३ जनाले ज्यान गुमाएको उल्लेख गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले आन्दोलनका क्रममा घाइते भई उपचारका लागि अस्पताल आउनेको संख्या २ हजार ३१६ पुगेको बताए ।
उपचार पछि डिस्चार्ज भएकाहरुको संख्या १ हजार ९५९ रहेको छ । विभिन्न अस्पतालबाट विशेषज्ञ सेवाका लागि रिफर गरिएको घाइतेको संख्या ८४ रहेको पनि उनले जानकारी दिए ।
डा. अधिकारीका अनुसार उपचारमा रहेका १९६ घाइते मध्ये काठमाडौँ उपत्यका भित्रका १६ वटा अस्पताल र उपत्यका बाहिर १६ वटा गरी कुल ३२ वटा अस्पतालमा उपचाररत छन् ।
उपत्यका भित्रका अस्पतालहरुमा अहिले सबैभन्दा बढी उपचाररत घाइतेहरु नेशनल ट्रमा सेन्टरमा २८ जना रहेका छन् । यस्तै नेपाल पुलिस अस्पतालमा १८ जना, त्रिवि शिक्षण अस्पताल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा समान १७ – १७ जना रहेका छन् ।
उपत्यका बाहिर अहिले पनि धेरै घाइतेहरु बीएण्डसी अस्पताल झापामा रहेको छ । त्यहाँ अहिले १७ जनाको उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उपत्यका बाहिर अस्पतालमा आएर मृत्यु हुने घाइतेको संख्या १२ जना र काठमाडौँ उपत्यका भित्रका अस्पतालमा उपचारका क्रममा मृत्यु हुने घाइतेको संख्या ३६ जना रहेको उल्लेख गरेको छ ।
सम्पर्क इमेल : [email protected]