स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सेवा तत्कालका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट

464
Shares

काठमाडौँ, २८ भदौ । जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सेवा सोही परिसरमा रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को कार्यालय भवनबाट हुने भएको छ ।

मन्त्रालयले आइतबार एनएचआरसीको भवनका केही कोठाहरुबाट अत्यावश्यक सेवा सञ्चालन गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार देखि मन्त्रालय परिसरमै रहेको एनएचआरसीका केही कोठाबाट अत्यावश्यक सेवा दिने गरी तयारीमा रहेको बताए ।

‘तत्काल सिंहदरबार परिसरमा जाने अवस्था पनि छैन र सेवा रोक्न पनि मिलेन, अब आइतबारबाट चाँही परिषद्का केही खाली कोठाहरुबाट सेवा सुरु गर्ने भएका छौँ,’उनले भने ।

त्यसो त मन्त्रालयको हल भन्दा भन्दा पछाडीको भाग तोडफोडमा परे पनि जल्नबाट जोगिएको छ । एनएचआरसीको अध्यक्ष बस्ने कोठा र केही अरु खाली कोठाहरुलाई पनि प्रयोगमा ल्याउन सकिने देखिएको छ ।

मन्त्रालयले परिषद्ले भर्खरै निर्माण सम्पन्न गरेको नयाँ भवनलाई पनि मन्त्रालयले काम चलाउन कार्यालय राख्ने विकल्पको रुपमा सोचेको छ ।

मन्त्रालयका प्रशासन सहसचिव दिवस आचार्यले सुरुका केही समय अत्यावश्यक सेवाहरु एनएचआरसीको पुरानो भवनका केही कोठाहरुबाट दिईने र सिंहदरबार भित्र भवन व्यवस्थापन नभए एनएचआरसीकै नयाँ भवन समेत फर्निसिङ गरी बैकल्पिक उपाय अवलम्बन गरिने योजना रहेको बताए ।

गत २४ गते मन्त्रालयको मुख्य भवन र अगाडी तर्फको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई (एचईओसी) भवन जलेर पूर्ण रुपमा नष्ट भएको छ । परिसरमा रहेका २४ वटा गाडी र त्यतिकै संख्यामा मोटरसाइकल तथा स्कुटरहरु पनि जलेर नष्ट भएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *