कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा योग्यता नमिल्ने व्यक्तिलाई रजिष्ट्रार बनाउने कोसिस, मन्त्रालयमा रोकियो नियुक्ती पत्र
काठमाडौँ, २० भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रजिष्ट्रार पदमा योग्यता नमिल्ने व्यक्तिलाई रजिष्ट्रास बनाउने कोसिस भएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायको सिफारिसमा प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बिहीबार लक्ष्मीचन्द्र महतलाई नियुक्त गरेको समाचार सार्वजनिक भएको थियो । तर महतको योग्यता प्रतिष्ठानको नियमावलीसंग मेल नखाएपछि उनको नियुक्ती रोकिएको छ ।
स्रोतका अनुसार बिहीबार अबेरसम्म नियुक्ती पत्रका उपलव्ध गराउन दवाव दिईए पनि कर्मचारीहरुले नियुक्ती सम्वन्धी निर्णय नियमविपरित हुने भन्दै रोकेका छन् ।
योग्यता कहाँ निर फरक ?
यसअघि मन्त्री पौडेलले प्रतिष्ठान ऐन २०६८ तथा मन्त्रालय मातहतका निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ बमोजिम प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले गरेको सिफारिसका आधारमा महतलाई नियुक्त गरेको बताइएको थियो । यहि मापदण्ड विवादमा परेको हो ।
गत १७ चैत २०८१ मा बसेको प्रतिष्ठानको ११ औँ सिनेट बैठकले प्रतिष्ठान ऐन २०६८ को दफा ४३ बमोजिम, विभिन्न निकाय तथा पदाधिकारीको बैठक सञ्चालन, काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक र सुविधा सम्वन्धी नियमावली २०६९लाई संसोधन गरि रजिष्ट्रार लगायतको योग्यता समेत निर्धारण गर्ने निर्णय गरेको छ ।
सो निर्णयबारेमा प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसअघि नै पत्राचार गरि जानकारी गराई सकेको छ । मन्त्रालय स्रोतका अनुसार महतको योग्यता संसोधित नियमावली अनुसार नमिलेपछि रोकिएको हो ।
रजिष्ट्रारका लागि योग्यता के हो ?
पुरानो नियममा कर्णालीको रजिष्ट्रार बन्नका लागि कुनै पनि विषयमा स्नातकोत्तर गरी सम्वन्धीत क्षेत्रमा ५ वर्ष कार्याअनुभव भए पुग्दथ्यो । तर गत १७ चैतमा सम्पन्न एघारौँ सिनेटले योग्यता संसोधन गरि नयाँ मापदण्ड तय गरेको छ । सो नयाँ मापदण्डमा रजिष्ट्रारको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र, अस्पताल प्रशासन वा व्यवस्थापकीय विषयमा कम्तिमा स्नातकोत्तर उपाधी प्राप्त गरेको । सम्वन्धीत क्षेत्रमा कम्तिमा १० वर्ष कार्यअनुभव भएको वा चिकित्साशास्त्र, जनस्वास्थ्य विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी मन्त्रालय सम्वद्ध निकायमा कम्तिमा १० औँ तहको कार्यानुभव भएको वा सो सरहको पदमा काम गरेको हुनु पर्ने उल्लेख छ ।
प्रस्तावित रजिष्ट्रार महतको योग्यतामा किन विवाद ?
मन्त्रालय स्रोतका अनुसार अन्तराष्ट्रिय गैर सरकारी संस्था युएसएआईडीमा लामो कार्यानुभव भएका महतको योग्यता पुरानो नियमावली अनुसार मिल्थ्यो तर संसोधित नियमावलीले छेकेको छ । उनको पपुलेसनबाट एमए सकेर एमफिल गर्दै गरेका छन् ।
यो विषय रजिष्ट्रारका लागि तोकिएको विषयमा नपर्ने भएकोले नियुक्ती रोकिएको बताइएको छ ।
‘आज नियुक्ती दिएर के गर्ने ? संसोधित नियमावलीमा उल्लेखित मापदण्ड अनुसार उहाँको विषय मिलेको छैन । भोलि योग्यताको विषयलाई लिएर अदालतमा मुद्धा परेमा उल्टै फसिन्छ, थाहा हुँदा हुँदै यस्तो काम किन गर्ने ? भनेर रोकिएको हो,’ एक कर्मचारीले भने ।
प्रतिष्ठानमा गत ३ असार देखि रजिष्ट्रार खाली छ ।
सम्पर्क इमेल : [email protected]