हृदयघातबाट जटिल अवस्थामा पुगेका व्यक्तिलाई नेपाल मेडिकल कलेजका चिकित्सकले बचाए
काठमाडौँ, ११ भदौ । हृदयघात भई जटिल अवस्थामा पुगेका एक बिरामीलाई नेपाल मेडिकल कलेजका चिकित्सकले बचाएका छन्। काभ्रेपलाञ्चोक घर भएका विजय तामाङको नेपाल मेडिकल कलेजका मुटु रोग विशेषज्ञ डाक्टर अर्जुन बुढाथोकी नेतृत्वको टीमले जोगाएको हो ।
लामो समयदेखि रक्सी तथा चुरोट सेवन गर्दै आइरहेका तामाङलाई साउन २६ गते अगाडिदेखि नै गाउँमा स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। सासप्रश्वास र मुटुमा समस्या देखिएपछि सुरुमा उनलाई पाटन अस्पताल लगिएको र त्यहाँ विद्युतीय झट्का दिएर अनियमित मुटुको धड्कनलाई सामान्य बनाउने कोशिष गरिएको थियो ।
तर, पाटनमा भेन्टिलेटर र आइसियू खाली नहुँदा तत्कालै गंगालाल हृदय रोग केन्द्रमा रेफर गरिएपनि त्यहाँ समेत भेन्टिलेटर र आइसियू नपाउँदा उनका आफन्तले थापाथलीस्थित एक निजी अस्पताल पुर्याएका थिए । यद्यपि, गाउँको सामान्य खेती(किसानी गरेर जीविकोपार्जन गरेर बसेका तामाङ परिवारले निजी अस्पतालको खर्च धान्न सक्ने अवस्था भएन। त्यसपछि उनलाई तत्कालै नेपाल मेडिकल कलेज लगिएको थियो ।
‘उहाँ साउन २७ गते नेपाल मेडिकल कलेजमा आउनु भएको हो । यहाँ आउँदा उहाँको बाच्ने चान्स २० प्रतिशत मात्रै रहेछ, मैले २८ गते बिहान हेर्दा उहाँको स्वास्थ्यवस्था अत्यन्त जटिल बनिसकेको थियो । तथापि, हामीले मुटुको औषधीहरु सूचारु गरेका थियौं, मिर्गौलामा पनि समस्या थियो, हामी हारेका थिएनौं, बचाउन सकिन्छ कि भनेर उपचार थाल्यौं । बिरामीका आफन्तलाई पनि सोही अनुसार परामर्श गरेर क्रमसः केही दिन आइसियूमै राखेर उपचार गरेपछि क्रमिकरुपमा उहाँको स्वास्थ्यमा सुधार हुँदैगयो,’ डा. बुढाथोकीले भने।
डा. बुढाथोकीका अनुसार बिरामीलाई यसबीच दुईपटक डायलाइसिस समेत गर्नुपरेको थियो । लगातार १० दिनसम्मको उपचारपछि अस्पतालले तामाङलाई डिस्चार्ज गरिसकेको छ ।
सघन उपचारपछि ज्यान बचेकोमा बिरामी बिजय तामाङले आइन्दा रक्सी सेवन नगर्ने प्रतिबद्धता मात्र जनाएनन्, मृत्युको मुखबाट आफुलाई बचाएर ल्याएकोमा नेपाल मेडिकल कलेजका चिकित्सक, नर्सहरुलाई समेत धन्यवाद दिए । ‘बाँच्छु भन्ने लागेकै थिएन, यहाँहरुले मृत्युको मुखबाट मलाई निकाल्नु भयो । अब रक्सी खाँदिन,’ अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले भने।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




