आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा ९ प्रकारका औषधि उत्पादन
काठमाडौँ, ८ भदौ । आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गरी दर्ताका लागि सिफारिसको तयारी गरेको छ । केन्द्रले गत आर्थिक वर्षदेखि औषधि उत्पादनको काम सुरु गरेको हो ।
गत आवमा १० प्रकारका औषधि सिफारिस गरेकामा यस वर्ष नौ वटा सिफारिस गर्ने तयारी गरेको कार्यालयका प्रमुख डा। सुरेश महर्जनले जानकारी दिए । उनका अनुसार गत वर्ष सिफारिस गरिएका सबै औषधि चूर्ण (धुलो) छन् ।
यस वर्ष आठ ‘ट्याब्लेट’ र एक भष्म औषधि व्यवस्था विभागमा दर्ताका लागि सिफारिस गर्ने तयारी गरेको हो ।
गत वर्ष सिफारिस गरिएका औषधिमा अश्वगन्ध चूर्ण, आमलकी चूर्ण, सितोपलादी चूर्ण, अविपत्तिकर चूर्ण, बिल्वादी चूर्ण, हिङ्ग्वाष्टक चूर्ण, महासुदर्शन चूर्ण, पुस्यानुग चूर्ण, त्रिफला चूर्ण, निम्बादी चूर्ण छन् ।
यस वर्ष सिफारिस गर्न लागिएको औषधिमा खदिरादि बटी, गन्धक रसायन, महाशङ्ख बटी, चन्द्रप्रभा बटी, कैशोर गुग्गुलु, योगराज गुग्गुलु, महायोगराज गुग्गुलु, सर्पगन्धाघन बटी र टङ्कण भष्म छन् ।
बागमती प्रदेश सरकारको अनुमति र सङ्घीय सरकारको मापदण्डमा रहेर औषधि उत्पादन गर्दै आइएको उनले जानकारी दिए । अहिले केन्द्रले २३ औषधि उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
उनले भन-‘हामीले प्रदेश सरकारबाट एक सय १९ औषधि उत्पादनका अनुमति पाइसकेका छौँ ।’ तर अहिले सरकारले प्राथमिकतामा राखेका २३ औषधि उत्पादन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
सरकारले अत्यावश्यकभित्र राखेका औषधि उत्पादन गरेर निःशुल्क उपलब्ध गराउने तयारी गरिएको छ । सरकारले जारी गरेको कुशल औषधि उत्पादन अभ्यास निर्देशिका २०८२ अनुसार औषधि उत्पादन र सिफारिस गरिएको उनले बताए ।
बागमती प्रदेशभित्र रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि पुर्याउने गरी काम गरिएको उनले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]