जिप दुर्घटनामा एक चिकित्सक सहित आठ घाइते

कालीकोट, १९ साउन । कालीकोटमा आज दिउसो भएको जिप दुर्घटना एक जना चिकित्सक सहित आठ जना घाइते भएका छन् । सुर्खेतबाट जुम्ला जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०६३७ नं को जिप आज दिउँसो कालीकोट सदरमुकाम मान्मामा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडक खण्डमा पर्ने खाँडाचक्र–१ स्थित होटल हिलसाइड नजिक अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो । सो क्रममा जिपमा सवार कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. रुबी थापालगायत आठ जना घाइते भएका छन् । कास्की जिल्ला पोखरा महानगरपालिका २९ घर भएकी थापाको दाहिने करङ्गमा चोट लागेको छ । थापालाई थप उपचारका लागि हेलिकोप्टरमा नेपालगन्ज लगिएको छ ।
अन्य घाइतेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २५ वर्षीय चालक धर्मप्रसाद अधिकारी, गुल्मी सत्यवाती गाउँपालिका–५ का ३० वर्षीय सुनिल ज्ञवाली, दार्चुला नौगाड गाउँपालिका–२ की २२ वर्षीया अन्जना धामी, मुगु कार्मारोम गाउँपालिका–२ का २६ वर्षीय च्छोत्याङ्ग तामाङ घाइते छन्।
त्यस्तै, बाँके कोहलपुर नगरपालिका–८ का ३५ वर्षीय देवेन्द्र अधिकारी, पाल्पा माथागढी गाउँपालिका–१ का ४५ वर्षीया कल्पना नेपाल आचार्य र दोलखा गौरीशंकर गाउँपालिका–१ का ३० वर्षीय हिक्मत जिरेल घाइते छन् । अन्य घाइतेको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको जिल्ला अस्पताल कालीकोटका डा. जीवन पाण्डेले जानकारी दिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
