बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

48
Shares

काठमाडौँ, १६ साउन । बागमती प्रदेशलाई  पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार भक्तपुरमा आयोजित विशेष कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् ।

सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको थियो ।

प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेशस्तरमा पूर्ण खोप सुनिश्चित  घोषणा गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गरे ।

प्रधानमन्त्री ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाई दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको बताए । उनले भने,“रोग लाग्न सक्छ तर हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ । त्यसको एउटा उपाय खोप हो । यो अभियान सफल हुँदै गएकामा म खुसी व्यक्त गर्दछु ।”

प्रधानमन्त्री ओलीले भने, “हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको छ । उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको छ । आगामी २०८३ मा हामी विकासशील मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसका लागि पनि यो अभियान महत्वपूर्ण साबित भएको छ । अरु प्रदेशमा यस्ता अभियान सञ्चालनमा हामीले प्रेरित गर्नुपर्नेछ ।”

प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुलाई सम्मान प्रदान गरे ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *