महालक्ष्मी नगरपालिकाद्धारा डेंगी सचेतना अभियान सुरू

60
Shares

ललितपुर, १६ साउन । महालक्ष्मी नगरपालिकाले वडा नम्बर १ बाट डेंगी सचेतना अभियान सुरू गरेको छ । डेंगी सचेतना महिना घोषणा भएसँगै महालक्ष्मी नगरपालिकाले बिहीबार वडा नम्बर १ मा ‘डेंगी रोग संक्रमण रोकथाम तथा सरोकारवाला अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको हो ।

नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई डेंगीको जोखिम न्यूनिकरण, रोकथामका उपायहरू, र सरोकारवाला निकायहरूबीचको समन्वय अभिवृद्धिमा लक्षित गरिएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरपालिका भित्र प्रत्येक वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै डेंगीजस्ता सरुवा रोगको नियन्त्रणका लागि समुदायस्तरको सहभागिता अपरिहार्य हुने बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले साउन महिनालाई सरकारले डेंगी सचेतना महिना’ घोषणा गरेसँगै नगरपालिकाले डेंगी संक्रमण रोकथाम तथा जनचेतना अभिवृद्धिका लागि सक्रियता देखाएको बताए ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष छिरिङ लामा, वडा सदस्यहरू, जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेल, महालक्ष्मी नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवाली, इमाडोल स्वास्थ्य प्रवर्द्धन केन्द्रकी डा. सुलोचना कुँवर, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा समुदायस्तरका सरोकारवाला व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।

सरकारले ‘साउन महिनालाई डेंगी सचेतना’ महिनाको रूपमा घोषणा गर्दै प्रत्येक शुक्रबार बिहान १० बजे ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रालयले डेंगीको उच्च जोखिम साउनदेखि कात्तिकसम्म रहने भएकाले सचेतना फैलाउने उद्देश्यले यस्तो अभियान सुरु गरेको हो ।

कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक भरत बोहराले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *