भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको संख्या घट्दै

40
Shares

काठमाडौँ, १४ साउन। भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ ।

काठमाडौँको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए ।

अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख प्राडा सुनिलमणि पोखरेल अस्पतालमा गत आव २०८१/८२ मा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिएको जानकारी दिए ।

यसमध्ये चार हजार ३८३ (५२ दशमलव ४५ प्रतिशत) को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५ दशमलव २८ प्रतिशत) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ (२ दशमलव २६ प्रतिशत) को जटिल प्रसूति भएको थियो ।

अघिल्लो आव २०८०/८१ मा नौ हजार ३५५ र त्यसअघि आव २०७९/८० मा ११ हजार ८९४ गर्भवतीले प्रसूति सेवा लिएका थिए । डा।पोखरेलले भने- ‘केही वर्षअघि वार्षिक १६ हजारसम्मले यहाँ सेवा लिएका थिए ।

अहिले क्रमशः घट्ने क्रममा गएको छ ।’ देशभरकै तथ्याङ्कमा ३० प्रतिशत हाराहारी घटेको भन्दै उनले बच्चा जन्माउने उमेरका युवायुवती विदेशिएको बताए ।

विगतमा गाउँगाउँ र छिमेकी जिल्लाबाट प्रसूति सेवा लिन आउनेको सङ्ख्या धेरै हुने गरेको भन्दै डा।पोखरेल पछिल्लो समय जिल्ला र नगरहरुमा प्रसूति सेवा विस्तार भएसँगै भरतपुर अस्पतालको चाप घटेको बताए ।

उनले भने, ‘नगर अस्पताल र बर्थिङ सेन्टरमा प्रसूति सेवाको विस्तार भएपछि भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या घट्दै छ ।’ निजी अस्पतालमा सङ्ख्या बढेर सरकारी अस्पतालमा घटेको नभई स्थानीयस्तरमा नै सेवा पाएकाले यहाँ घटेको उनको भनाइ छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *