वीरले मनायो १३६ औँ बार्षिकोत्सव
वीर अस्पताल आजबाट १३६ औँ वर्षमा प्रवेश गरेको छ । विसं १९४६ साउन १२ गते तत्कालीन श्री ३ वीर शम्शेर जवराले १५ वटा अन्तरङ्ग शैयासहित यो अस्पताल स्थापना गरेका थिए ।
अहिले भने यो नेपालकै सबैभन्दा ठूलो र सबैभन्दा पुरानो विशिष्टिकृत केन्द्रीय अस्पतालको रुपमा परिचित छ ।
यसैबीच सोमबार वीरको १३६ औँ बार्षिकोत्सव समारोहको उद्घाटन गर्न पुगेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधारका लागि जोड दिए । उनले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीसंग वीर देशकै स्वास्थ्य क्षेत्रको ऐना भएकोले यसलाई सुदृढ ढंगले सेवा दिने संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘वीर हेरेपछि देशको स्वास्थ्य अवस्था कस्तो छ भनेर बुझ्न सकिन्छ । त्यसैले स्वास्थ्यको ऐनाको रुपमा परिचित यो अस्पताललाई हामी सबै मिलेर सुधारौँ,’ उनले भने ।
मन्त्री पौडेलले वीरका अधिकारीहरुले सेवालाई छिटो छरितो संगै लाइन घटाउन, तीन महिना भित्रै जस्ता सुकै शल्यक्रियाको पालो पाउने व्यवस्था मिलाउन समेत निर्देशन दिए । उनले कार्यक्रमहरु सुधार गर्नका लागि आर्थिक समस्या नपर्ने भन्दै त्यसका लागि आफु सहयोग गर्न तयार रहेको समेत बताए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले अस्पतालले सिमित आर्थिक स्रोत र साधनका बावजुत उत्कृष्ठ सेवा उपलव्ध गराउँदै आएको बताए । उनले भने ‘सिमित स्रोत साधनबाट वीरले आफ्नो सेवा प्रवाहलाई चुस्त राखेको छ, हाल दैनिक ३ हजार विरामीलाई अस्पतालले सेवा दिइरहेको छ।’
वीर अस्पतालका निेर्देशक डा दिलीप शर्माले अस्पतालले दिएको सुविधा र सेवाका लागि थपिएका चुनौतीका विषय प्रस्तुत गरेका थिए । उनले अस्पतालमा आगामी आर्थिक वर्ष पुरानो भवन र नयाँ भवनको बीचमा आकासे पुल निर्माण गर्ने, कुरुवा घर बनाउने लगायतका योजना सुनाए । यस्तै आकस्मिक कक्षको शैय्या थप्ने, अत्याधुनिक उपकरणहरुको जोहो गर्ने लगायतका योजना समेत रहेको सुनाए ।
उनले वीरमा स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रुपमा लागू भएको भन्दै सोधभर्ना हुन ढिलाई हुँदा समस्या परेको उल्लेख गरे । उनले वीर साघुरो भएकोले दुवाकोट परियोजना छिटो अघि बढाइदिन मन्त्री समक्ष अनुरोध समेत गरेका थिए ।
यसैबीच वीर अस्पतालबाट आर्थिक वर्ष २०८१र०८२ मा कुल ६ लाख ४७ हजार २१५ जनाले बहिरंग सेवा लिएका छन। यो अनलाइनबाट सेवा लिएका नयाँ तथा पुराना बिरामीहरुको समेत तथ्यांक हो।
यहि अवधीमा आकस्मिक सेवा लिनेको संख्या ३५ हजार १४१ छ भने अन्तरंग सेवा लिनेको संख्या २१ हजार २२४ जना रहेको छ ।
अस्पतालले गत आर्थिक वर्षमा २६ हजार ४४६ जनालाई शल्यक्रिया सेवा उपलव्ध गराएको जनाएको छ । यस्तै निदानात्मक सेवा तर्फ १२ लाख ७१ हजार १९८ वटा प्रयोगशाला परीक्षण गर्न सफल भएको उल्लेख गरेको छ ।
बार्षिक उत्सव कार्यक्रममा प्रधानमन्त्रीमन्त्री केपी शर्मा ओली आउने भनिए पनि अन्तिममा उनी अनुपस्थित रहे ।
सम्पर्क इमेल : [email protected]