नेपाल औषधी उत्पादक संघको ३१ औँ साधारण सभा १९ साउनमा, नयाँ नेतृत्व छानिदै
नेतृत्वको दौडमा को - को छन् ?
काठमाडौँ, ६ साउन । नेपाल औषधी उत्पादक संघ (एपोन)को ३१ औँ बार्षिक साधारण सभा आगामी १९ साउनका लागि तय भएको छ । काठमाडौँमा हुने यसै सभाले आगामी दुई वर्षका लागि एपोनको नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।
यसअघि एपोनको २९ औँ वार्षिक साधारण सभाबाट दुई वर्षे कार्यकालका २६ असोज २०८० मा निर्वाचित महेश प्रधान नेतृत्वको टीमले आफ्नो अवधी समाप्त हुने मिति भन्दा नौ साता (दुई महिना ७ दिन) अगावै बार्षिक साधारण सभा बोलाएको छ ।
साधार सभा आउन १३ दिन बाँकी रहँदा एपोनको नेतृत्व गर्न आकाक्षा देखाउनेहरु खुल्न थालेका छन् ।
बरिष्ठ उपाध्यक्ष प्रभात रुंङ्गाटाका अनुसार अहिले एपोनमा कुल ७२ सदस्य छन् । साधारण सभामा तिनै सदस्यहरुबाट नयाँ कार्यसमिति चयन हुने हो । यसअघि ११ सदस्यीय कार्यसमिति रहेको एपोनमा यसपटक विधान संसोधन गर्दै १३ पुर्याईएको छ । त्यसमा थपिएका दुई पदमा एक सचिव र एक सदस्य पद रहेको छ ।
नेतृत्वको दौडमा को को छन् ?
साधारण सभा आउन अझै १३ दिन बाँकी रहेकाले त्यसबेला सम्म नेतृत्वमा क कसले दावी गर्ने हुन् अहिल्यै अनुमान गर्न गाह्रो हुन्छ । तर यतिवेलासम्म एपोनको नेतृत्वका लागि तीन जना चर्चामा रहेका छन् । अहिले बरिष्ठ उपाध्यक्षको कार्यभार सम्हालेका प्रभात रुङ्गाटा, उपाध्यक्ष सन्तोष बराल र अघिल्लो पटक अध्यक्ष पदमा पराजित भएका विप्लभ अधिकारी ।
नेपाली हेल्थसंगको कुराकानीमा तीन जनाले नेतृत्वको दावी गर्ने त भने तर सहमतिको बाटो खुल्ला नै छ है भन्न छुटाएनन् । त्यस कारण नेतृत्वको लागि यी तीन जना ईच्छुक व्यक्ति अन्तिम अवस्थामा सहमतिको विन्दुमा पुग्ने सम्भावना बलियो देखिन्छ ।
आगामी कार्यकालका लागि अध्यक्ष हुन खोजेका रुङ्गाटा बरिष्ठ उपाध्यक्ष भई सकेपछि स्वभाविक रुपमा आफ्नो दावेदारी अध्यक्षमा हुने बताउँछन् । यद्धपी अरु साथीहरुले पनि दावी गरिरहँदा सहमतिको विन्दुबाट पर सर्ने आफ्नो बानी नभएको स्पष्ट पार्छन् । ‘अहिले म वीरगञ्जमै छु , केही दिनमा काठमाडौँ आउँछु, पूर्व अध्यक्षसहित सबै साथीहरुसंग सल्लाह गर्छु र अन्तिम निर्णयमा पुग्छु होला,’ सम्छिप्त प्रतिक्रिया दिदै उनले भने ।
अध्यक्षमा दावी गरेका अर्का उपाध्यक्ष बराल आफू यसअघि तीन कार्यकाल उपाध्यक्ष भई सकेकोले अब संस्थाको नेतृत्वमा दावी पेश गर्नु पर्छ भन्ने लागेको बताए । तर उनी पनि मिलाएर जाने पक्षमा आफू रहेको बताए ।
यता अघिल्लो पटक अध्यक्षमा पराजित भएका अधिकारीले यसपटक आफ्नो उम्मेद्धारी स्वभाविक रहेको बताउँछन् । म त अघिल्लो पटक नै नेतृत्व गर्छु भनेको हुँ । साथीहरुले त्यसबेला अर्को पटक आउनुहोला भनेर रोक्नु भयो यसपटक त स्वभाविक रुपमा आउनु परयो । उनले भने । अधिकारीले यसपकट मिलेरै नेतृत्व चयन हुनेमा आफू ढुक्क रहेको बताउँछन् ।
एपोनमा नेतृत्व चयनका बेला पूर्व अध्ययहरु तथा पदाधिकारीहरुको भूमिका महत्वपूर्ण हुने गर्दछ । यसपटक पनि पूर्व अध्यक्ष तथा पदाधिकारीहरुले सहमतिको भूमिका खेल्न सक्ने सदस्यहरु बताउँछन् ।
यसैबीच १९ साउनमा हुन लागेको एपोनको ३१ औँ बार्षिक साधारण सभाको तयारीका लागि बरिष्ठ उपाध्यक्ष प्रभात रुङ्गाटाको संयोजकत्वमा चार सदस्यीय तयारी समिति गठन भएको छ ।
सोमबार बसेको एपोन केन्द्रीय समितिको बैठकबाट गठित तयारी समितिको सदस्यहरुमा उपाध्यक्ष सन्तोष बराल, कार्यसमिति सदस्यद्धय शैलेश वैद्य र सुमितचन्द्र श्रेष्ठ रहेका छन् ।
यस्तै सोमबारकै बैठकले एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । सो समितिको सदस्यहरुमा एपोनकै पूर्व अध्यक्ष महेश गोर्खाली र बरिष्ठ अधिवक्ता रमेशप्रसाद धिताल रहेका छन् ।
सम्पर्क इमेल : [email protected]