डा. सुधा देवकोटाको डडेल्धुरा अस्पतालमा सरुवा

डडेल्धुरा अस्पतालले पहिलो पटक पाउँदै बरिष्ठ चिकित्सक
828
Shares

काठमाडौँ, ३१ असार । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखामा निर्देशक रहेकी डा सुधा देवकोटाको सरुवा भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा देवकोटालाई डडेल्धुरा अस्पतालमा पठाउने निर्णय गरेका हुन् ।

डा देवकोटा महाशाखामा गत वर्षको असोजमा निर्देशक भएर आएकी थिइन्। त्यसअघि उनी कोशी प्रदेशको स्वास्थ्य सचिव थिइन्।

डा देवकोटाको उपचारात्मक सेवा महाशाखाबाट डडेल्धुरा अस्पतालमा सरुवा भएपछि रिक्त रहेको उक्त पदमा भने कसलाई ल्याउने भन्ने विषयमा अझै निर्णय नभएको स्रोतले जानकारी दियो।

डडेल्धुरा अस्पतालले पहिलो पटक पाउँदै बरिष्ठ चिकित्सक

डडेल्धुरा अस्पतालमा एघारौँ तहको चिकित्सक प्रमुख मेडिकल सुपरीटेन्डेन्ट हुने प्रावधान छ । तर अहिलेसम्म एक जना पनि एघारौँ तहको चिकित्सक सो पद सम्हाल्न पुगेका छैनन् । आठौँ, नवौँ र दशौँ तहका चिकित्सकहरुले निमित्त प्रमेसुको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

मन्त्रालयको पछिल्लो निर्णय पछि भने डडेल्धुराले एघारौँ तहको सबैभन्दा बरिष्ठ चिकित्सक प्रमुखको रुपमा पाउने निश्चित जस्तै भएको छ । किनभने डा देवकोटा १२ औँ तह (अतिरिक्त सचिव) पदका लागि प्रतिस्पर्धामा उत्रिएर बढुवाका लागि सिफारिसमा समेत परेकी चिकित्सक हुन् । रिक्त दुई अतिरिक्त सचिव पदका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गर्दा उनी तेस्रो नम्बरमा थिईन् । पछि मन्त्रिपरिषद् बैठकले पहिलो र दोस्रोलाई बढुवा गर्ने निर्णय गर्दा उनी रोकिएकी हुन् ।

‘अहिले उहाँ एघारौँ तहको सबैभन्दा बरिष्ठ चिकित्सक हुनुहुन्छ । डडेल्धुरा जानु भयो भने त्यस भेगले अहिलेसम्मकै बरिष्ठ चिकित्सक पाउँछ,’ मन्त्रालयका एक अधिकारीले भने ।

मन्त्रालयको निर्णय पछि डा. देवकोटाले पनि डडेल्धुरा जाने मनस्थिति बनाएकी छन् । ‘सरकारले खटाएको ठाउँमा नजाने भन्ने कुरा हुँदैन । विगतमा धेरै यस्ता ठाउँमा गएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेको छु,’ सम्छिप्त प्रतिक्रिया दिदै उनले भनिन् ।

यसैबीच मंगलबार नै मन्त्री पौडेलले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काम गर्ने गरी ११ औं तहका डा. राजिव रिजालको सरुवा गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *