डीएनए परीक्षणले खुल्यो रहस्य: आईभीएफ त्रुटिले साटियो सन्तान !

एजेन्सी । आफ्नै काखमा हुर्काएको सन्तान, आफ्नै रगतको हो भन्ने विश्वास प्रत्येक आमाबुबाको स्वाभाविक भावना हो।
तर, सोच्नुस्—यदि वर्षौँपछि अचानक तपाईंलाई भनियो कि, ‘त्यो बच्चा तपाईंको जैविक सन्तान नै होइन’ के होला ? यस्तै खालको एक घटना हालै अस्ट्रेलियामा भएको छ ।
के थियो घटना ? कसरी भयो ?
त्यसो त आधुनिक चिकित्सा प्रविधि इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ)लाई सन्तान नहुने दम्पतीका लागि वरदान मानिन्छ। तर यहि प्रविधिको राम्ररी प्रयोग गर्न नजाँदा कहिलेकाँही दुर्लभ तर गम्भीर त्रुटिहरूका सतहमा आउने गरेका छन् ।
प्रयोगशालामा अण्डा र शुक्राणु मिलाएर भ्रूण तयार गरी गर्भाशयमा राखिने यो विधिले विश्वभर लाखौँ परिवारलाई सन्तानको खुशी दिएको छ। तर यही प्रविधिभित्र कहिलेकाहीँ हुने सानो मानवीय गल्तीले जीवन नै उल्ट्याउने परिणाम ल्याउने गरेको छ।
यस्तै एउटा स्तब्ध पार्ने घटना हालै अस्ट्रेलियामा सार्वजनिक भएको छ। साशा स्जाफ्रान्स्की र उनकी जुम्ल्याहा दिदी बहिनीले आफ्नो ३० वर्षको उमेर नजिकिँदै गर्दा मात्र आफूहरूलाई हुर्काउने आमाबुबासँग जैविक सम्बन्ध नभएको थाहा पाए। सुरुमा सामान्य जस्तो लाग्ने डीएनए परीक्षणले उनीहरूको जीवन नै उल्ट्याइदियो।
उनीहरू आफ्नो बुबा पोल्यान्ड मूलका भएको विश्वासमा हुर्किएका थिए। तर परीक्षणले आयरल्याण्ड र इङ्ग्ल्याण्डसँग सम्बन्ध देखायो। अझै आश्चर्यजनक कुरा—उनीहरूकै शहरमा बस्ने एक महिलासँग जैविक सम्बन्ध देखियो, जसले अनुसन्धानलाई अझ गहिराइमा पुर्यायो ।
अन्ततः थाहा भयो कि सन् १९९५ मा सिड्नीस्थित अस्पतालमा गरिएको आईभीएफ प्रक्रियाका क्रममा गलत भ्रूण प्रत्यारोपण रहेछ । अर्थात्, उनीहरूलाई जन्म दिने आमा पेनीले अर्कै दम्पतीको भ्रूण बोकेकी थिइन्।
“मैले तिनलाई जन्म दिएँ, हुर्काएँ—ती मेरा छोरी नै हुन् भन्ने लाग्थ्यो,” पेनीले भावुक हुँदै भनिन्। “३० वर्षअघि भएको यो गल्ती स्वीकार्न गाह्रो छ, तर अब हामीसँग विकल्प पनि छैन।”
यो घटना अस्ट्रेलियामा मात्र दोस्रो पटक पुष्टि भएको गम्भीर केस हो। तर यो एक्लो घटना भने होइन।
ब्रिस्बेनमा पनि यस्तै अर्को घटना बाहिर आयो, जहाँ एक महिलाले आईभीएफ क्लिनिकको ‘मानवीय त्रुटि’का कारण अर्कैको भ्रूण बोकेर बच्चा जन्माइन्। अझ चकित पार्ने कुरा—यो गल्ती बच्चा जन्मिएपछि महिनौँसम्म कसैलाई थाहा नै भएन। पछि जैविक अभिभावकहरूले आफ्ना बाँकी भ्रूण सार्न खोज्दा स्टोरमा अतिरिक्त भ्रूण भेटिएपछि मात्र यो त्रुटि उजागर भयो।
यस घटनाले दुवै परिवारलाई मानसिक रूपमा ध्वस्त बनायो। क्लिनिकले माफी मागे पनि ‘यस्तो गल्ती दोहोरिँदैन’ भन्ने आश्वासनले पीडा कम गर्न सकेन।
आईभीएफमा हुने त्रुटि केवल भ्रूण साटासाटमा मात्र सीमित छैन। शुक्राणु नमुनामा भएको गल्तीले पनि यस्तै संकट निम्त्याएको छ।
अस्ट्रेलियाकै अर्को घटनामा, गोरा दम्पतीले आफूजस्तै देखिने दाताबाट शुक्राणु चयन गरेका थिए। तर बच्चा जन्मिएपछि उसको शारीरिक बनावट फरक देखिएपछि शंका उत्पन्न भयो। अनुसन्धान गर्दा थाहा भयो—शुक्राणु बैंकमै दुई फरक दाताको नमुना साटिएको रहेछ।
अमेरिकामा पनि यस्ता घटनाहरू बढ्दै गएका छन्। फ्लोरिडामा एक दम्पतीले आफ्नो बच्चा जैविक रूपमा आफ्नै नभएको आशंकामा क्लिनिकविरुद्ध मुद्दा दायर गरेका छन्। बच्चाको रूपरङ्ग फरक देखिएपछि उनीहरू सशंकित बनेका थिए।
तर सबैभन्दा गहिरो चोट प्राविधिक होइन—भावनात्मक हुन्छ।
अभिभावकहरूले जन्मदेखि हुर्काएको बच्चासँग गहिरो माया बसिसकेको हुन्छ। तर पछि त्यो बच्चा आफ्नै नभएको थाहा पाउँदा उनीहरू जीवनकै सबैभन्दा कठिन निर्णयको सामना गर्न बाध्य हुन्छन्—के बच्चा साट्ने ? कि जसरी हुर्काइयो, त्यसरी नै राख्ने ?
क्यालिफोर्नियामा सन् २०१९ मा दुई दम्पतीले एकअर्काको जैविक छोरी हुर्काइरहेको थाहा पाएपछि अन्ततः बच्चा साट्ने निर्णय गरेका थिए। त्यो निर्णय कानुनी रूपमा सही भए पनि भावनात्मक रूपमा अत्यन्त पीडादायक थियो।
यी घटनाहरूले एउटा गम्भीर प्रश्न उठाएका छन्—के आईभीएफ जस्तो संवेदनशील प्रक्रियामा शतप्रतिशत सुरक्षा सम्भव छ ?
विशेषज्ञहरूका अनुसार ‘डबल–विटनेसिङ’ जस्ता प्रणाली, जहाँ प्रत्येक नमुनाको पहिचान दुई पटक पुष्टि गरिन्छ, अनिवार्य रूपमा कडाइका साथ लागू गर्नुपर्छ। साथै डिजिटल ट्र्याकिङ र स्वचालित पहिचान प्रणालीलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता देखिएको छ।
किनभने यहाँ गल्ती केवल एउटा प्रविधिगत त्रुटि होइन—यो मानव जीवन, पहिचान, सम्बन्ध र भावनासँग प्रत्यक्ष जोडिएको विषय हो।
आईभीएफले लाखौँलाई खुशी दिएको छ। तर यस्ता दुर्लभ तर गम्भीर घटनाहरूले सावधानी, पारदर्शिता र कडाइका साथ निगरानीको आवश्यकता अझ स्पष्ट बनाएका छन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



