प्रादेशिक अस्पताल सिरहाका तत्कालीन दुई प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाका तत्कालीन दुई जना कार्यालय प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज याद सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अस्पतालको टिकट काउन्टरबाट संकलन भएको राजस्व रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका ८ वटा विल काउन्टरबाट संकलन भएको सेवा शुल्क बापतको रकम बैंकमा दाखिला नगरी हिनामिना गरिएको पाइएको छ ।
अनुसन्धानका क्रममा सफ्टवेयर अभिलेखमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचर भिडान गर्दा ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा फरक परेको थियो ।
उक्त सरकारी रकम बदनियतपूर्वक हिनामिना गरेको र कार्यालय प्रमुखले जिम्मेवारी पूरा नगरी अनियमिततामा सघाएको ठहर आयोगले गरेको छ ।
मुद्दा दायर गरिएका अन्य प्रतिवादीहरूमा तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह, तत्कालीन लेखा प्रमुख अशोक कुमार यादव तथा विल काउन्टरमा कार्यरत कर्मचारीहरू श्याम कुमार मण्डल, रोशन कुमार यादव, सरस्वती कुमारी यादव, अजय कुमार मण्डल र पुजा कुमारी यादव रहेका छन् ।
त्यस्तै, तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको मृत्यु भइसकेको भए पनि उनले हिनामिना गरेको सरकारी रकम असुल उपर गर्ने प्रयोजनका लागि कानुन बमोजिम उनकी श्रीमती मुस्कान कुमारी मण्डललाई समेत प्रतिवादी बनाइएको छ ।
सबै प्रतिवादीहरूसँग बिगो बमोजिमको जरिवाना र भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजायको मागदाबी गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



