निर्वाचन रोक्ने गरी उच्च अदालतको अन्तरिम आदेशपछि टिम मंगलको अपिल : यथाशीघ्र निर्वाचन होस्

काठमाडौँ, २० पुस । उच्च अदालत पाटनले यथास्थितिमा निर्वाचन नगर्न नेपाल चिकित्सक संघ र संगले गठन गरेको निर्वाचन समितिलाई अन्तरिम आदेश दिएपछि चुनावी प्रतिस्पर्धामा उत्रिएको टिम मंगलले पहिलो प्रतिक्रिया दिएको छ ।
केही वेर अघि सार्वजनिक अपिल जारी गर्दै कुनै पनि बहानामा निर्वाचन लम्व्याउने खेलमा नलाग्न निर्वाचन समितिलाई चेतावनी दिएको छ ।
टिम मंगलले भनेको छ, `वर्तमान कार्यसमितिको एकपक्षीय रूपमा निर्वाचन अघि बढाउने प्रवृत्ति र त्यसले नियुक्त गरेको निर्वाचन समितिको असक्षमता चिकित्सा जगतले नजिकबाट नियालिरहेको छ। यसप्रति चिकित्सक समुदाय सचेत र जिम्मेवार ढंगले प्रतिक्रिया दिनेछ भन्नेमा हामी विश्वस्त छौं। तर, आफैंले गरेका कमजोरी ढाकछोप गर्ने बहानामा निर्वाचन प्रक्रियालाई अनिश्चित बनाउने कुनै पनि प्रयासप्रति हामी गम्भीर खबरदारी गर्न चाहन्छौं।´
बरिष्ठ उपाध्यक्षका उम्मेद्वार डा अजय मिश्र र सदस्यका उम्मेद्धार डा गणेश चौधरीको उम्मेद्धारी रद्ध गरेपछि उनीहरु निर्वाचन समितिले चुनावी विधि अनुसार नचलेको आरोप लगाउँदै निर्वाचन रोक्नु पर्ने मागका साथ उच्च अदालत पाटनमा रिट हाल्न पुगेका थिए ।
उनीहरुको रिट अनुसार नै आज पाटनले यथास्थितिमा चुनाव नगर्न नगराउन चिकित्सक संघ र निर्वाचन समितिका नाममा अन्तरिम आदेश दिएको छ ।
हेर्नुहोस टिम मंगलको अपिल !
नेपाल चिकित्सक संघको निर्वाचनमा उम्मेदवार बन्न चाहेका तर विभिन्न कारणले रीत नपुगेका चिकित्सकहरूलाई रीत पुर्याउने अवसर दिई निर्वाचन प्रक्रियामा सहभागी गराउन उच्च अदालतले दिएको आदेशको हामी हार्दिक स्वागत गर्दछौं। यस आदेशले हामीले निरन्तर उठाउँदै आएको ञलोकतान्त्रिक प्रक्रियामा सबैलाई सहभागिताको अधिकार हुनुपर्नेझ अजेन्डालाई स्पष्ट स्थापित गरेको छ।
स्वस्थ प्रतिस्पर्धामार्फत उत्कृष्ट नेतृत्व चयन भए मात्र सम्पूर्ण चिकित्सकहरूको हक–हितमा निर्भीक रूपमा बोल्न, पैरवी गर्न र डटेर उभिन सक्ने नेपाल चिकित्सक संघ निर्माण सम्भव हुन्छ भन्नेमा हामी सुरुदेखि नै स्पष्ट छौं। त्यसैले हामीले आफैंले निर्माण गरेका कानुनको अपव्याख्या गर्ने वा पालना नगर्ने प्रवृत्तिविरुद्ध निरन्तर संघर्ष गर्दै आएका छौं। अदालतको आदेशमार्फत यसअघि हाम्रो टिमका एकजना उम्मेदवार डा। अरुण शाहीको हकमा पनि उक्त अधिकार स्थापित भइसकेको छ, जुन लोकतन्त्रको स्पष्ट जित हो।
आफ्नो प्रतिस्पर्धा गर्ने हक माग्नु र निर्वाचन सुनिश्चित हुनु नै लोकतन्त्रको असली जित हो। आफ्नो अधिकार माग्ने नाममा निर्वाचन नै हुन नदिने अवस्था सिर्जना गर्नु लोकतान्त्रिक बाटो होइन। परिवर्तनका लागि निर्वाचन नै सही र वैधानिक माध्यम हो भन्ने कुरा निर्वाचन रोक्न माग गर्ने पक्षलाई पनि स्मरण गराउन चाहन्छौं।
अर्कातिर, नेपाल चिकित्सक संघको वर्तमान कार्यसमिति तथा त्यसद्वारा गठन गरिएको निर्वाचन समितिले देखाएको अपरिपक्वता, नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० को गलत व्याख्या तथा कार्यान्वयनमा देखिएको उदासीनताले संघलाई अनावश्यक संकटतर्फ धकेलेको छ। चाँडोभन्दा चाँडो नयाँ नेतृत्व चयन गरी ‘हाम्रो एनएमए, सबैको एनएमए’ बनाउने आम चिकित्सकहरूको भावना र अपेक्षामाथि यसले ठेस पुर्याएको छ।
वर्तमान कार्यसमितिको एकपक्षीय रूपमा निर्वाचन अघि बढाउने प्रवृत्ति र त्यसले नियुक्त गरेको निर्वाचन समितिको असक्षमता चिकित्सा जगतले नजिकबाट नियालिरहेको छ। यसप्रति चिकित्सक समुदाय सचेत र जिम्मेवार ढंगले प्रतिक्रिया दिनेछ भन्नेमा हामी विश्वस्त छौं। तर, आफैंले गरेका कमजोरी ढाकछोप गर्ने बहानामा निर्वाचन प्रक्रियालाई अनिश्चित बनाउने कुनै पनि प्रयासप्रति हामी गम्भीर खबरदारी गर्न चाहन्छौं।
नेपाल चिकित्सक संघको मूल मर्म‘एकता, भ्रातृत्व र सेवा’लाई शिरोधार्य गर्दै तोकिएको समयमै निर्वाचन गर्ने वातावरण बनाउन सबै पक्षलाई आग्रह गर्दछौं। नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी यथाशीघ्र निष्पक्ष र समावेशी निर्वाचन सम्पन्न गर्न वर्तमान कार्यसमिति जिम्मेवार ढंगले अघि बढ्नेछ भन्ने हाम्रो अपेक्षा छ। कुनै पनि बहानामा एनएमए नेतृत्व चयन प्रक्रियालाई अनिश्चित बनाउने खेलप्रति घोर भ्रत्सना गर्दै, यथासिघ्र निर्वाचन गर्न जोडदार अपिल गर्दछौं।
लोकतन्त्र, पारदर्शिता र सहभागितामै बलियो एनएमएको भविष्य निहित छ।
– टिम मंगल
एनएमए निर्वाचन २०२६
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



