‘जेनजी अगुवा’को दवाव पछि आयो स्वास्थ्यबाट ‘बर्खास्तसम्म गर्न सकिने सूचना’, होला त कार्यान्वयन ?

780
Shares

काठमाडौँ, ७ असोज । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५२ मा समय पालना र नियमितता, दफा ५३ मा अनुशासन र आज्ञापालन, दफा ५४ मा राजनैतिक वा अवान्छनीय प्रभाव पार्न नहुने, दफा ५५ मा राजनीतिमा भाग लिन नहुने, दफा ५६ मा सरकारको आलोचना गर्न नहुने, दफा ५७ नामा सरकारी कामकाज सम्वन्धी समाचार प्रकाशित गर्न प्रतिवन्ध लगायतका कर्मचारीका आचारण सम्बन्धि व्यवस्था छ ।

तर यर्थात के हो भने कानूनका यी दफाहरु खासै कार्यान्वयनमा आएको पाईदैन । किनभने अहिले पनि सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीहरु प्रत्यक्ष रुपमा नदेखिए पनि विभिन्न संघ संगठनको सदस्यताका आधारमा दल निकट हुन् भनेर चिन्नलाई गाह्रो छैन । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग देखि तल्लो तहसम्म हुने सरुवा बढुवा नियुक्तीमा दल निकट व्यक्ति प्राथमिकतामा पर्नु र दल निकट संगठनको सिफारिस हुनु अहिलेसम्मको यथार्त नै हो ।

गत विहीबार जेनजी अगुवाको रुपमा परिचित सुदन गुरुङ, उज्यालो नेपाल पार्टीमा लागेका डा अभिषेक राज सिंह र युवा चिकित्सक डा कुन्जाङ शेर्पा सहितको टोलीले स्वास्थ्य मन्त्री डा सुधा शर्मालाई भेटेर कानूनका यी दफालाई पुन सक्रिय बनाउन आग्रह गरे । आग्रह मात्रै होईन दवाव नै दिए ।

स्वास्थ्य मन्त्रालयले उनीहरुले दवाव दिएको एक दिन पछि  तिनै दफा उल्लेख गर्दै कानूनको पालना नगरे बर्खास्त गर्न सकिने सम्मको व्यवस्था रहेको भन्दै चेतावनी सहितको विज्ञप्ती जारी गर्‍यो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तीमा ऐनका दफाहरु हेर्न र क्रियाकलाप गर्न भनिए जस्तो देखिन्छ ।

त्यसो त स्वास्थ्य मन्त्रालयले केही दिन अघि पनि कर्मचारीको सन्दर्भमा अर्को विज्ञप्ती जारी गरेको थियो तर त्यो निकै नै साधारण खालको भएको भन्दै अगुवा भनिनेहरु अर्को कडा विज्ञप्ती जारी गरियोस भन्दै मन्त्रालय पुगेका थिए ।

नेपाल चिकित्सक संघको आउँदै गरेको निर्वाचन, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल मेडिकल काउन्सिलको निर्वाचन, नर्सिङ आन्दोलन साथै अन्य स्वास्थ्यकर्मीहरुका संस्था र तिनका नेतृत्वले गर्दै आएका गतिविधिहरुमा राजनीति मज्जाले नै देखिन्छ र देखिदै आएको छ ।

‘जेनजीका नाममा अहिले दवाव दिन आएकाहरु पनि एक खालको राजनीतिक नै गर्न आएका हुन् । फरक यति हो पहिलेका पुरानाका कुरा होइन अब नयाँ दलका कुरा सुनियोस, हाम्रा कुरा लागू होस भन्ने न हो,’ मन्त्रालयका एक अधिकारीले भने ।

उनले अगाडी थपे, ‘जेन जी सरकार भनेको छ, हाम्रो सरकार भनेको छ, थर्काएको छ, यसरी कति दिन चल्छ ? आफूहरुले आफूलाई चाहि हेर्नु पर्दैन ? उनीहरुले चाहि यो स्वतन्त्र ढंगले गरेका छन् कि राजनीति ?’

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *