छुटेका बैकल्पिक चिकित्सा पद्धतीलाई नीतिगत रुपमा समेटेर अघि बढ्नु पर्छ : सभामुख घिमिरे

काठमाडौँ, ६ मंसिर । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले छुटेका बैकल्पिक चिकित्सा सेवा क्षेत्रका कार्यक्रमहरुलाई नीतिगत रुपमा समेट्दै अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।
विश्व अकुपंचर दिवसको अवसरमा नेपाल अकुपंचर मोक्जिबुसन एण्ड एक्युप्रेसर एसोसिएन र चाइनिज मेडिसिन डाक्टरर्स सोसाइटी अफ नेपालले संयुक्त रुपमा आज आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
सभामुख घिमिरेले नेपालमा बैकल्पिक चिकित्साका विभिन्न विधाहरु मध्ये अकुपंचर, मोक्जिबुसन तथा अकुप्रेसरजस्ता सेवाहरु लोकप्रिय रहेको भन्दै नीतिगत रुपमा समेटेर थप व्यवस्थित गर्नुपर्ने बताए ।
एसोसिएसनका अध्यक्ष अकुपंचरिष्ट सुदर्शन बस्नेतले नेपालमा अक्युपञ्चरप्रति जनविश्वास र प्रयोग बढ्दै गएको बताउँदै आगामी वर्षहरूमा यसलाई अझ व्यापक रूपमा प्रवर्द्धन गर्ने योजना रहेको जानकारी दिए । अकुपंचरबारे बोल्दै उनले भने, अकुपंचर पाँच हजार बर्ष अघि देखि चीनमा अभ्यास हुँदै आएको परम्परागत उपचार पद्धतीको एउटा भाग हो भन्दै शरीरका विशेष विन्दु जसलाई अकुप्वाइन्टस भनिन्छ, ती विन्दुहरुमा विशेष प्रकारका सियोले घोचेर उपचार गरिने पद्धतीनै अकुपंचर रहेको बताए । हुन पनि अकुपंचर औषधीविहीन उपचार पद्धती हो ।
अकुपंचर विशेषज्ञहरुले क्यान्सर, संक्रमण र भाँचिएको अवस्था बाहेक अधिकांश रोगको उपचारमा अकुपंचर प्रयोग हुने बताउँछन् । बस्नेत भन्छन्, पेट आँखा हाडजोर्नी, व्लड प्रेसर लगायतका सबै खालका समस्यामा यो पद्धतीको सफल प्रयोग भएको छ । अझ हाडजोर्नी एवं नसाका रोगहरु र सबै प्रकारको दुखाईमा यो पद्धती थप प्रभावकारी देखिएको छ ।

कार्यक्रममा सिंहदरबार वैद्यखाना विकास समितिका प्रमुख डा प्रदीप केसी, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोध शर्मा, स्वास्थ्य मन्त्रालयका पुष्पराज पौडेल लगायतले दिवसको अवसरमा शुभकामना दिएका थिए ।
कार्यक्रममा चिनियाँ प्रतिनिधि तथा अकुपंचर विज्ञहरुले यसको प्रयोग र महत्वकोबारेमा प्रस्तुति दिएका थिए ।
नेपालमा अकुपंचरको इतिहास
अकुपंचरिष्ट बस्नेतका अनुसार नेपालमा अकुपंचर सेवा कहिले देखि सुरु भयो भन्ने एकीन जानकारी छैन । कोदारी राजमार्ग निर्माणसंगै नेपालमा अकुपंचर भित्रिएको मानिन्छ । कोदारी राजमार्ग निर्माणका क्रममा चिनियाँ प्राविधिकसंगै उनीहरुको उपचारका लागि अकुपंचरिष्टहरु पनि नेपाल पठाइन्थ्यो । औपचारिक रुपमा भने विसं २०३१ सालबाट सुरु भएको मानिन्छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



