नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरु

काठमाडौँ, ३१ असार । वीरगञ्जस्थित नारायणी अस्पतालमा महिलाहरुका लागि स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरु भएको छ । वीरगञ्ज पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एक कार्यक्रमका बीच ती दुई सेवाको शुभारम्भ गरे ।
यसअघि मन्त्री पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए । सोही अनुरुप मधेश प्रदेशका महिलालक्षित स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा थालिएको हो । संगसंगै निःसन्तान दम्पत्तीलक्षित बाँझोपनको उपचार समेत अस्पतालमा शुरु भएको अस्पतालले जनाएको छ ।
मधेशको स्वास्थ्य सेवा सुधार हाम्रो प्राथमिकता हो,’ उनले भने,‘ थपिएका सेवाले यहाँका दिदीबहिनीहरुलाई धेरै पैसा खर्च गरेर देशबाहिर जानुपर्ने समस्या हट्ने आशा लिएको छु ।’
मन्त्री पौडेलले नयाँ बजेटमा मधेश प्रदेशमा लक्षित मिर्गौला उपचार केन्द्रका लागि व्यवस्था गरेको भन्दै अन्य सेवाहरु विस्तारमा प्राथमिकताका साथ काम गर्ने बताए ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा चुमनलाल दासले यी सेवाका लागि यसअघि मधेशका महिलाहरुले काठमाडौं तथा भारतसम्म जानु पर्ने अवस्था रहेको भन्दै अब वीरगञ्जमै यी सेवा उपलव्ध हुने बताए ।
नारायणी अस्पताल मधेश प्रदेशमा रहेको एक मात्रै संघीय अस्पताल हो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



