राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

84
Shares

काठमाडौँ, ८ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४ सय श्यैया (बेड)को अस्पताल निर्माण गर्न बजेट तथा कार्यक्रम पारित गरेको हो ।

बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्रावधानहरूमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तनलगायतका निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधा सम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिन आग्रह गरे ।

उनले नेपाल सरकारको निरोगी नेपालको सोचलाई आत्मसात् गर्दै आरोग्यताका लागि आमसञ्चार र सामाजिक सञ्जालबाट जनचेतना फैलाउने काममा विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी परिचालिन हुनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत भएबमोजिम चार सय श्यैयाको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन सुरु भएको जानकारी गराए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *