हेल्थ कन्सर्नले ल्यायो स्वास्थ्य सेवा प्रवाहलाई ‘डिजिटलाइज्ड’ गर्ने नयाँ सफ्टवेर ‘एचओएस’

काठमाडौँ, २० जेठ । स्वास्थ्य सेवा प्रवाहलाई प्रविधियुक्त यथार्थ परक, दक्षतामा आधारित, पहुँच योग्य र सेवाग्राही मैत्री बनाउनका लागि गत १३ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका – २०८१’ जारी गरेको थियो ।
स्वास्थ्य क्षेत्र सुधारका लागि ‘इन्नोेभेटिव आईडिया’ पस्किदै आएको हेल्थ कन्सर्न नेपालले यसपटक सोही निर्देशिकासंग ‘फिट’ हुने गरी तयार भएको सफ्टवेर ‘हस्पिटल अपरेटिङ सिस्टम (एचओएस)’ सार्वजनिक गरेको छ ।
आईटी कम्पनी मेड आई क्यु प्रालिले लामो खोज र अनुसन्धान गरी विकास गरेको यो सफ्टवेरमा हेल्थ कन्सर्न नेपालको सहकार्य छ ।
‘स्वास्थ्य क्षेत्र सुधारका लागि प्रणालीसंगै प्रविधिको पनि विकास हुनुपर्छ र यसले सेवा प्रवाहलाई छिटो छरितो र व्यवस्थित पनि गर्दछ । अहिले हामीले ल्याएको एचओएस त्यहि खालको प्रविधियुक्त सफ्टवेर हो,’ सफ्टवेरबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा हेल्थ कन्सर्न नेपालका संस्थापक सीईओ डा. सुवास प्याकुरेलले भने ।
सो अवसरमा उनले अब अस्पताल सेवालाई कसरी डिजिटलाइज गराउन सकिन्छ ? कसरी पेपरलेस गराउन सकिन्छ ? नेपालका स्वास्थ्य संस्थाको दैनिक व्यवहारलाई प्रविधिमा परिणत गरी चुस्त दुरुस्त र छिटो छरितो रुपमा कसरी दिन सकिन्छ भन्ने विषय र एचओएस सफ्टवेरले गर्ने कामका विषयमा जानकारी दिएका थिए ।
‘अहिलेको सन्दर्भमा डिजिटलाइजेसन र सूचना प्रविधिको उच्चतम प्रयोग नै यसका लागि आधार मानिएको छ । एआई ब्ल्क चेन जस्ता लोकप्रिय प्रविधिलाई खुल्ला राखिएको यो सफ्टवेरलाई नेपाल भित्र मात्र सिमित नभएर निकट भविस्यमा अन्तराष्ट्रिय बजारमा समेत आकर्षित गर्ने योजनाका साथ विकास गरिएको छ,’ डा प्याकुरेलले भने ।
उनले पहिलो छ महिना क्लिनिक, पोलिक्लिनिक, फार्मेसी, ल्याव, पालिका अस्पताल, सामुदायिक अस्पताल लक्षीत गरि अघि बढ्न लागेको समेत बताए ।

हेल्थ कन्सर्नकै चिफ प्रोग्राम अफिसर श्रृष्टि पन्तले एचओएस सफ्टवेर वेव सञ्जाल मार्फत जहाँसुकैबाट सम्पर्क स्थापित गर्न सकिने अन्तर आवद्धता, बिरामी व्यवस्थापन चक्रमा देखा पर्ने समस्याहरुलाई न्युनिकरण गर्दै प्रचलित स्वास्थ्य बीमा प्रणालीसंग जोडिई स्वास्थ्य संस्थाहरुलाई अपेक्षित फाइदा पुग्ने गरी विकास गरिएको बताईन ।
उनले विद्युतीय दस्तावेज मार्फत बिरामीका स्वास्थ्य सम्वन्धी दस्ताबेजहरुलाई सुरक्षित राखी आवश्यक परेको समयमा पुन: प्रयोगमा सहजै ल्याउन सकिने लगायतका सुविधाहरु समेत रहेको बताईन् । उनले सफ्टवेरमा अपोइनमेन्ट रजिष्ट्रेसन, अनलाइन सेल्फ टिकटिङ, ओपिटी इएमआर, प्यासेन्ट पोर्टल, ल्याब्रोटरी रेडियोलोजी, डिस्चार्ज, बिलिङ, प्यासेन्ट कार्ड जेनेरेटर, रिपोर्ट एण्ड एनालाइसिस, इन्भेन्टरी म्यानेजमेन्ट तथा फामर्से लगायतका मोडुलहरु तयार भईसकेको बताईन् ।
‘अरु केही मोडलहरु केही हप्ता र केही महिनामा थपिदैछन्,’ उनले भनिन् ।

हेल्थ कन्सर्नका जनसम्पर्क निर्देशक मिलनचन्द्र खनालले स्वास्थ्य सेवामा सहज पहुँचका आफ्नो संस्थाले विभिन्न पक्षसंग रचनात्मक सहकार्य गर्दै आईरहेको भन्दै भविस्यमा पनि यस्ता परियोजनाहरु अघि बढाउँदै जाने बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



