राष्ट्रिय चिकित्सक संघको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पुरा
काठमाडौँ, ८ जेठ । चितवनमा भोलिदेखि सुरु हुने राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन) को तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । एनडीएएनले आज काठमाडौँमा सम्छिप्त पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सो जानकारी दिएको हो ।
एनडीएएनका अध्यक्ष डा जागेश्वर गौतमले चितवनमा हुने दुई दिने सम्मेलनको तयारी पुरा भएको जानकारी दिए । उनले सम्मेलनबाट नयाँ नेतृत्व चयन हुने पनि बताए ।
राष्ट्रिय चिकित्सक संघ नेकपा एमाले निकट चिकित्सकहरुको संस्था मानिन्छ । तर, डा. गौतमले भने यसमा एमालेसंगै गैर एमाले पनि सदस्य बन्न सक्ने बताए ।
चिकित्सकहरुको पेशागत हकहित र अधिकारका लागि एनडीएएन सधै क्रियाशिल रहेको भन्दै उनले संगठनले पछिल्लो समय चिकित्सकहरुलाई स्वदेशमा बस्ने बातावरण बनाउन राज्यलाई दवाव दिने काम गरिरहेको बताए ।
‘स्वास्थ्य विशिष्टीकृत सेवा हो भन्दै छुट्टै ऐनका आवश्यकता पर्ने एनडीएएनको धारणा हो’ भन्दै उनले चिकित्सकको सुविधा र सुरक्षामा सधै आवाज उठाइरहेको बताए ।
कार्यक्रममा एनडीएएनका सल्लाहकार डा कृष्ण अधिकारीले श्रम ऐन अनुसार चिकित्सकहरुले सुविधा पाउन नसकेको भन्दै त्यसका लागि राज्यलाई दवाव दिने काम आफ्नो संस्थाले गरेको बताए ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा झलक गौतमले सम्मेलन सफलताको कामना गरेका थिए ।
एनडीएएन महासंघको आठ वटा मध्येको एक घटक हो ।
सम्मेलनको उद्घाटन गर्न पहिलो दिन एमाले नेता कृष्णगोपाल श्रेष्ठ चितवन पुग्ने कार्यक्रम छ । नयाँ कार्यसमितिलाई प्रमाणपत्र दिन तथा संगठनका लागि दिशा निर्देशन गर्न पार्टीका महासचिव शंकर पोखरेल पुग्ने कार्यक्रम छ ।
सम्पर्क इमेल : [email protected]