औद्योगिक ट्रान्सफ्याट उन्मुलन गर्ने नीति बनाएका चारवटा देश डब्लुएचओद्धारा पुरस्कृत
जेनेभा । औद्योगिक ट्रान्सफ्याट उन्मुलन गर्ने नीति बनाएका चारवटा देशलाई विश्व स्वास्थ्य संगठनले यसपटक पुरस्कृत गरेको छ । पुरस्कृत देशहरुमा सिंगापुर, अस्ट्रिया, नर्वे र ओमान रहेका छन् ।
स्वीटजरल्याण्डको जेनेभामा चलिरहेको विश्व स्वास्थ्य संगठनको ७८ औँ महासभाको अवसरमा महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले पुरस्कृत देशका स्वास्थ्य मन्त्रीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
ट्रान्स फ्याटले मुटुको धमनीहरु बन्द गरिदिन्छ । अनि हृदयघात र मुटुरोगका अरु विभिन्न समस्या निम्त्याउन मद्धत गर्दछ । डब्लुएचओका अनुसार प्रत्येक वर्ष २ लाख ७८ हजार बढीको मृत्युको कारण ट्रान्स फ्याट बनेको छ ।
विस्कुट, पाई,र फ्राइड खानाहरु, बनस्पति घिउ जस्ता बस्तुहरुमा ट्रान्सफ्याट बढी हुने गरेको विज्ञहरु बताउँछन् ।
ट्रान्सफ्याट भनेको के हो ?
बरिष्ठ मुटु शल्यचिकित्सक डा प्रेमराज वैद्य भन्छन्, ‘ट्रान्सफ्याटलाई हानिकारक चिल्लोको रुपमा लिइन्छ । यसलाई ट्रान्सफ्याट्टी एसिड पनि भनिन्छ । मुख्यतः खानामा दुई किसिमको ट्रान्सफ्याट पाइन्छ । प्राकृतिक ट्रान्सफ्याट र कृत्रिम ट्रान्सफ्याट ।
प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । जनावरबाट उत्पादन हुने ट्रान्सफ्याट थोरै मात्रामा हुने भएकाले ठिक्क प्रयोग गर्दा खासै हानी हुँदैन । कृत्रिम ट्रान्सफ्याट वनस्पति तेलमा हाइड्रोजनको मिश्रणबाट कारखानामा बनाइन्छ । यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानी पुर्याउँछ । यो कोठाको सामान्य तापक्रममा जम्ने गर्छ ।
फ्याट अर्थात फ्याटि एसिड दुई किसिमका हुन्छन् – स्याचुरेटेड र अनस्याचुरेटेड । तेललाई जति धेरै तताईन्छ स्याचुरेटेड फ्याट त्यति धेरै वृद्धि हुँदै जान्छ । घिउ, बोसोमा भने नतताईकन नै स्याचुरेटेड फ्याट हुन्छ ।
अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुन्छ । एउटा पोलीअनस्याचुरेटेड फ्याटी एसिड र अर्को मोनोअनस्याचुरेटेड फ्याटी एसिड । मोनोअनस्याचुरेटेड पनि दुई किसिमको हुने गर्छ । एउटा ट्रान्सफ्याट र अर्को सिसफ्याट । यसमध्ये ट्रान्सफ्याट धेरै हानिकारक छ ।
ट्रान्सफ्याट मिसिएका खाना खाँदा त्यसले मानिसको मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पुर्याउने गरेको छ । यसले मानिसको मृत्युदर बढाउन थालेको समेत विभिन्न अनुसन्धानमा देखिएको छ । त्यसकारण ट्रान्सफ्याटलाई प्रतिबन्ध लगाउने अभियान विश्वभर शुरु गरिएको हो ।
पहिले हामी अनस्याचुरेटेड फ्याट वा वनस्पति तेलहरुलाई राम्रो भन्थ्यौँ । यही तेलहरुमा हाइड्रोजन ग्यास मिसाएर हाड्रोजेनेसन गरेपछि तेल अलि बाक्लो हुन्छ । अझ धेरै हाइड्रोजन मिसाएपछि तेल जम्छ, जसलाई वनस्पति घिउ ९डाल्डा० भन्ने गरिन्छ । यो वनस्पति घिउ निकै खराब हुन्छ । त्यसमा ट्रान्सफ्याट धेरै हुन्छ ।
वनस्पति घिउमा ३५ देखि ६५ प्रतिशतसम्म ट्रान्सफ्याट भएको पाइन्छ । यो भनेको मानव स्वास्थ्यका लागि निकै खराब हो । यसले स्वास्थ्यमा प्रत्यक्ष हानि पु र्याउँछ । यसको तुलनामा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपातनिकै कम हुन्छ ।
रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ ।
ट्रान्सफ्याट धेरै भएको खानेकुरा खाएपछि यसले मानिसको शरीरमा कोलेस्ट्रोलको सन्तुलनमा गडबडी ल्याउँछ । फाइदा गर्ने कोलेस्ट्रोल घटाउँछ र खराब गर्ने कोलेस्ट्रोल चाहिँ बढाउँछ ।
अहिलेसम्म पत्ता लागे अनुसार वृद्धि भएको यही कोलेस्ट्रोल जमेर धमनीमा अवरोध गर्छ र हृदयघात हुन्छ । धमनीमा अवरोध भएपछि रक्तचाप पनि बढ्छ, जसका कारण स्ट्रोक (मस्तिष्क घात) पनि हुन सक्छ र हृदयघात पनि हुन सक्छ ।
ट्रान्सफ्याटयुक्त तेल खानै नहुने चाहिँ होइन, पूरा तेलको २ प्रतिशत भन्दा कम ट्रान्सफ्याट भएको तेल खाँदा हुन्छ ।
कारखानामा बनाइएको बाक्लो तेल वा डाल्डा घिउमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट हुने भएकोले यो स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । त्यसकारण यस्ता ट्रान्सफ्याटयुक्ततेल – घिउमा बनाइएका मिठाई, सेल, माल्पुवा, ग्वारमरी, पुरी, जेरी, स्वारी, हलुवा लगायत अन्य तयारी जंक फूडहरु नखानु नैराम्रो हो ।
ट्रान्सफ्याट सम्वन्धी नीति कसरी अघि बढ्दैछ ?
विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले सन् २०२३ को डिसेम्बर सम्ममा संसारबाट औद्योगिक ट्रान्स फ्याटलाई हटाउन सिफारिस गरेको छ । नेपाल सरकारले जारी गरेको नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्य योजना, २०२१ – २०२५ मा ट्रान्स फ्याट सीमित गर्ने नीति पारित गरेको थियो ।
सन् २०२२ जनवरी को डब्लुएचआ को प्रतिवेदन अनुसार छिमेकी राष्ट्र भारत लगायत ६० भन्दा बढी देशहरूले ट्रान्स फ्याट सम्बन्धी नीति तथा कानुन पारित गरी कार्यान्वयनमा ल्याइसकेका छन् ।
सम्पर्क इमेल : [email protected]