बाल रोग विशेषज्ञहरुको समूहले मध्य बानेश्वरमा सञ्चालनमा ल्याए किड्स क्लिनिक

काठमाडौँ, २९ बैशाख । बाल रोग विशेषज्ञहरुको एक समूहले काठमाडौँको मध्य बानेश्वरमा किड्स इन्टिग्रेटेड डिएम, एमसीएच सुपर स्पेसलिटी (किड्स क्लिनिक) सञ्चालनमा ल्याएका छन् ।
बाल उपचारका सबै सेवा एउटै छानोबाट दिने योजनाका साथ किड्स क्लिनिक सञ्चालनमा ल्याइएको पेडियाट्रिक्स ग्यास्ट्रो इन्टेरोलोजी एण्ड हेपाटोजिष्ट डाक्टर दिलिप न्यौपानेले बताए।
उक्त क्लिनिकमा बाल रोगका विभिन्न विधामा डीएम, एमसीएच गरेका छ जना चिकित्सकहरुको समूहले सञ्चालनमा ल्याएका हुन् । सबै प्रकारको विशिष्टीकृत सेवा दिन सक्ने चिकित्सक एकै स्थानमा नभेटिने स्थितिको अन्त्य गर्न यस्तो क्लिनिक सञ्चालनमा ल्याइएको उनले डा न्यौपानेले बताए ।
अर्का डाक्टर पुष्पराज अवस्थीले क्लिनिक दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिने उनले जानकारी दिए। किड्स क्लिनिकमा रहेका सात, आठ वटा विभागमा विशेष किसिमका विभागीय दक्षता हासिल गरेका चिकित्सकहरू आबद्ध रहेको उनले बताए ।

‘डा दिलिपले बच्चाको पेट सम्वन्धी सबै खाले समस्या हेर्नुहुन्छ । मैले स्वासप्रश्वास सम्वन्धी निमोनिया तथा दम लगायतका समस्या हेर्छु । बच्चाको न्युरोलोजी सेवाका लागि डा सन्तोष मिश्र, नवजात शिशु हेर्नका लागि डा धीरेन्द्र यादव, इम्युनोलोजि सम्वन्धी हेर्नका लागि डा धर्मागत भट्टराई हुनुहुन्छ, बाल शल्यचिकित्सक डा आशिषराज श्रेष्ठ हुनुहुन्छ,’ डा अवस्थीले भने ।
क्लिनिकमा फार्मेसी, प्रयोगशाला तथा रेडियोलोजी सम्वन्धी सेवाहरु पनि उपलव्ध भएको उनले बताए ।
जुनसुकै समस्या भएका बालबालिकालाई पनि उपचारका लागि अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको उनले जिकिर गरे।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



