वालिङमा नि:शुल्क आँखा शिविर सम्पन्न, २३५ जनाले लिए सेवा

स्याङ्जा, २५ बैशाख । जिल्लाको वालिङ नगरपालिका- ७ मा नि:शुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। गत बैशाख २० गते शनिबार केवरे भञ्ज्याङ् स्वास्थ्य चौकीमा सम्पन्न निःशुल्क शिविरमा २३५ जनाले आँखा सम्बन्धी सेवा प्राप्त गरेका छन्।
वालिङ नगरपालिका वडा नम्बर ०७ को आयोजनामा बीएम फाउन्डेसन र ताइवान प्रिभेन्ड ब्लाइन्डनेसको सह आयोजनामा सम्पन्न शिविरमा सहयोगी संस्थाको रूपमा केडीसी अस्पताल तथा केडीसी आई केयर सेन्टर र हिमालय आँखा अस्पतालको महत्वपूर्ण भूमिका रहेको वीएम फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए ।
उनका अनुसार शिविरमा १५३ महिला र ८२ पुरुषको आँखा परीक्षण गरिएको थियो।

विभिन्न आँखा समस्या पत्ता लागेकोमा मोतिबिन्दुको शल्यक्रियाको लागि १८ जनालाई सिफारिस गरिएको छ। त्यस्तै, ड्राइ आई भएका ५१ जना, प्टेरिजियम १८, पिङ्गुएकुला ११, रिफ्र्याक्टिभ एरर २६, प्रेसबायोपिया ८६, आक्युलर एलर्जी ९, कनजङक्टिभाइटिस २, स्क्विन्ट १, ब्लीफाराइटिस २ र १ जनामा ट्राइखियासिस समस्या देखिएको थियो।
शिविरमा ८२ जनालाई निःशुल्क रिडिङ चश्मा वितरण गरिएको थियो भने १६१ जनालाई निःशुल्क औषधि उपलब्ध गराइएको थियो।
शिविरमा ताइवान प्रिभेन्ड ब्लाइन्डनेसका इन्टरनेशनल प्रोग्राम म्यानेजर मोल्ली ली यिन र इन्टरनेशनल डाइरेक्टर हुआंग स्वानको पनि विशेष उपस्थिति रहेको थियो।

यस्तै वैशाख २१ गते विद्यार्थीहरूका लागि आँखा स्वास्थ्य शिक्षा कार्यक्रमसमेत आयोजना गरिएको डा श्रेष्ठले जानकारी दिएका छन्।
स्थापनाकाल देखि नै फाउण्डेशनले स्वदेशी तथा विदेशी विभिन्न संस्थासंग सहकार्य गर्दै आँखा, मुख तथा दन्त स्वास्थ्य उपचारका क्षेत्रमा प्राथमिकताका साथ योगदान गर्दै आईरहेको छ ।
‘हामी शहर भन्दा दुर दराज जहाँ उपचारको सहज पहुँच छैन, त्यस्ता क्षेत्रलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । पछिल्लो समय उपत्यका भन्दा मोफसलका ग्रामीण क्षेत्रमा नै हाम्रा शिविरहरु चलेका छन् । यो क्रम निरन्तर चलिरहन्छ,’ फाउण्डेशनका अध्यक्ष डा. श्रेष्ठले भने ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



