२३ वैशाखमा २३ औँ स्थापना दिवस मनाउँदै न्याम्स
विशेषज्ञ सहितका तीन हजार ६०० बढी जनशक्ति उत्पादन गरिसकेको न्याम्सको दावी
काठमाडौँ, २२ बैशाख । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औँ स्थापना दिवस मंगलबार मनाइदै छ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाई न्याम्सले प्रज्ञाभवन कमलादीमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
स्थापना दिवसको पूर्व सन्ध्यामा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले चिकित्सा तर्फ एमडीएमएस र डीएमएमसीएच साथै नर्सिङ तर्फ विभिन्न विषयहरुमा ३ हजार ६०० बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको बताए ।
उनले चिकित्सा विज्ञानको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्य विषयको अध्ययन् अनुसन्धानमा जोड दिने देशकै सबैभन्दा ठूलो सरकारी संस्थाको रुपमा न्याम्स अगाडी बढी रहेको बताए ।
‘एमडीएमएस गरेका १ हजार ५०० बढी, डीएम एमसीएच गरेका १५० नर्सिङ १ हजार ६०० बढी पास आउट भईसकेका छन् । अहिले ती विभिन्न विधामा करीव १ हजार ५०० पढी नै रहेका छन् । हामीले हरेक वर्ष नयाँ नयाँ कार्यक्रमहरु पनि थप्दै गएका छौँ । यसपटक कान सम्वन्धी उपचारका लागि बीएएसएलबी, रेडियो थेरापी टेक्नोलोजिष्ट लगायतका विषयमा समेत अध्ययन् हुने व्यवस्था मिलाउँदै छौँ,’ उनले भने ।
प्राडा बस्नेतले शैक्षिक प्रतिष्ठान सञ्चालन हुँदा बिरामीलाई समेत फाइदा हुने बताए । ‘पठनपाठन गराउँदा अस्पतालमा विशेषज्ञको पनि कमी हुँदैन । पढ्ने पढाउने क्रम हुँदा नयाँ नयाँ अध्ययनको खोजी हुन्छ,’ प्राडा बस्नेत भन्छन्, ‘यस्तो प्रक्रियाले बिरामीलाई गुणस्तरीय सेवा दिन मद्दत पुर्याउँछ ।’
न्याम्सका रजिष्ट्रार डा. ज्ञानेन्द्र शाहले न्याम्सले वीर तथा ट्रमा सेन्टरमार्फत प्रत्यक्ष रुपमा आम सर्वसाधारणलाई सहज पहुँचका साथ विशेषज्ञ सेवा दिने गरेको भन्दै प्रदेश तथा जिल्ला तहमा विशेषज्ञ पुर्याउँन न्याम्सको विशेष भूमिका रहेको बताए ।
न्याम्सका डीन डा अशेष ढुंगानाले यस वर्षदेखि थप ६ वटा अस्पतालसँग पठनपाठनका लागि नयाँ एमओयू गरेको भन्दै न्याम्ससँग २४ वटा अस्पतालले सम्बन्धन लिएर शैक्षिक कार्यक्रम चलाएको बताए । उनले डीएम एमसीएचमा सबैभन्दा बढी विषयमा पढाई न्याम्समै हुने समेत जानकारी दिए । ‘१० वटा विषयमा डीएम र ६ वटा विषयमा एमसीएच हुन्छ,’ उनले भने ।
गत वर्षसम्म न्याम्सले १०७ पीजी सिट पाएको थियो । यसवर्ष बढेर २४४ पुगेको छ । जति धेरै विशेषज्ञको पढाई हुन सक्यो बिरामीलाई उति नै फाइदा हुने डा ढुंगानाले बताए ।
चिकित्सा क्षेत्रमा योगदान गर्ने उदेश्यले विसं २०५९ सालमा नेपाल सरकारले वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्तरोन्नती गरि शैक्षिक कार्यक्रम शुरु गरेको हो।
विसं १९४७ श्रावण १२ गते वीर शम्शेरको पहलमा १५ शैयाबाट सुरु गरिएको अस्पतालबाट सन् १९३३ मा नेपाल कै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुलको शुरुवात गरी ड्रेसर र कम्पाउन्डरको तालिम शुरु गरिएको थियो।
पछि नर्सिङ शिक्षाको अध्यापन पनि शुरु गरिएको थियो। अस्पताललाई सन् १९८७ मा बेलायतको रोयल कलेजले एफआरसीएस, एमआरसीपी/एमआरसीओजी शिक्षाका लागि दक्षिण एशियाको केन्द्रको रुपमा मान्यता दिएको थियो।
त्यस्तै सन् १९९४ मा पोष्ट ग्राजुयसन मेडिकल एजुकेशन कोअर्डिनेसन कमिटी (पीजीएमईसीसी) मार्फत पोष्ट ग्राजुयसन एजुकेशन एमडीरएमएसको अध्ययन पनि सुरु भएको थियो।
यसरी प्रतिष्ठानको रुपमा कार्यरत वीर अस्पताललाई विस २०६३ सालमा नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रमहरु (एमडी/एमएस) का साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधिहरु निरन्तर रुपमा संचालन गर्दै आइरहेको छ।
न्याम्सले वीरसहित मुलुकका ठुला अस्पतालहरुलाई समेत साथमा लिएर एमडी एमएसका विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको छ। जसमा बालरोगको लागि कान्ति अस्पताल, स्त्रीरोगको परोपकार प्रसूति अस्पताल, मानसिकको लागि पाटन अस्पताल, सिभिल अस्पताल, मुटुरोगको लागि गंगालाल सहित उपत्यका बाहिरका विभिन्न अस्पतालहरुमा समेत शैक्षिक कार्यक्रम संचालन भइरहेका छन्।
त्यसैगरी आँखारोगका स्नाकोत्तर कार्यक्रमहरु त्रिपुरेश्वर आँखा अस्पताल, तिलगंगा, भैरहवाको रणअंबिका र भरतपुरमा समेत कार्यक्रमहरु संचालनमा रहेका छन्।
सम्पर्क इमेल : [email protected]