सुर्तीजन्य पदार्थको प्याकेटमा सतप्रतिशत चेतावनीमुलक चित्र छाप्ने निर्देशिका कार्यान्वयन नगर्न भन्दै जापान टोबाको कम्पनीको चिठी स्वास्थ्य मन्त्री पौडेललाई

काठमाडौँ, १७ बैशाख । सुर्तीजन्य पदार्थको प्याकेटमा १०० प्रतिशत भाग चेतावनीमुलक चित्रसहितको स्वास्थ्य सन्देशले छोप्नु पर्ने नयाँ निर्देशिका कार्यान्वयन नगर्न माग गर्दै जापान टोबाको इन्टरनेशन (जेटीआई)ले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई चिठी पठाएको छ ।

गत २१ मार्च (८ चैत २०८१)मा लेखेको चिठीको बोधार्थ उद्योग, बाणिज्य आपूर्ति मन्त्री, अर्थ मन्त्री, मुख्य सचिव र नेपालस्थित जापानी दुतावासलाई दिईएको छ ।

जेटीआईले गत ८ चैतमै स्वास्थ्य मन्त्रीलाई चिठी लेखेको भए पनि त्यो गुपचुप नै थियो । तर उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ निर्देशिका कार्यान्वयन नगर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जब चिठी पठायो त्यसपछि मात्रै जेटीआईको चिठीको विषय बाहिर आएको हो । उद्योगले गत १७ चैतमा स्वास्थ्यलाई लेखेको चिठीमा जेटीआईले स्वास्थ्य मन्त्रीलाई लेखेको चिठी आफूलाई बोधार्थ भएर आएको प्रसंग जोडेको थियो ।

उद्योगले पठाएको चिठीमा पनि गत २१ माघमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै जारी गरेको ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका – २०८१’ कार्यान्वयन नल्याउन आग्रह गरिएको छ ।

सोही आग्रह जेटीआईले पनि गरेको छ ।

उसले चित्र तथा सन्देश बढाएर प्रयोगकर्ता नघट्ने दावी गर्दै स्वास्थ्य सचेतनाकै लागि भनेर सत प्रतिशत भागमा सन्देश राख्न नपर्ने उल्लेख गरेको छ । चिठीमा उसले नेपालीहरु स्वास्थ्य सचेतनामा निकै अगाडी रहेको समेत ठोकुवा गरेको छ ।

नेपालमा जेटीआईले उत्पादन गरेका क्यामल र विन्स्टन चुरोट बिक्री हुने गर्दछ । त्यसको वितरण जिम्मा परफेक्ट ब्लेन्ड्स नेपाल प्रालिले लिएको समेत बताएको छ ।

जेटीआईले निर्देशिका फिर्ता नलिएर सत प्रतिशत चित्र छाप्ने नयाँ निर्देशिकाको कार्यान्वयन गर्ने तयारी ६ महिना भित्र नभई एक वर्ष दिन पनि माग गरेको छ ।

यसअघि निर्देशिका परिवर्तन हुँदा नेपाली सुर्ती उद्योगहरु अदालत नै जाने गरेका थिए । यसपटक भने उनीहरुको आवाज बनेर उद्योग मन्त्रालय र जेटीआई स्वास्थ्य मन्त्रालय समक्ष आएको छ । र अन्तराष्ट्रिय चुरोट कम्पनीले यसरी स्वास्थ्य मन्त्रीलाई सम्वोधन गर्दै पत्र पठाएको सम्भवत पहिलो पटक हो ।

नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट बार्षिक ३९ हजार २०० बढी व्यक्तिहरुको मृत्यु हुने गरेको छ । तसर्थ यसको प्रयोग नियन्त्रण गर्ने विभिन्न उपाय मध्येको एक सुर्तीजन्य पदार्थको प्याकेटको सत प्रतिशत भागमा चेतावनीमुलक चित्र अंकित स्वास्थ्य सन्देश छाप्ने निर्देशिका कार्यान्वयनमा ल्याउन लागेको हो ।

स्वास्थ्य मन्त्रालयका कानून शाखा उपसचिव गोपीकृष्ण रेग्मीले पारित भईसकेको निर्देशिका तोकिएकै समयमा कार्यान्व्यनमा आउने भन्दै कसैको पत्र अनुरोध आग्रहले फरक नपर्ने बताउछन् ।

नयाँ निर्देशिका आगामी १ भदौ देखि कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *