परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको सिमुलेसन ल्याब सञ्चालन:

‘मातृ तथा शिशु मृत्यु दरलाई शून्य बनाउन आवश्यक’ : स्वास्थ्य मन्त्री पौडेल

8
Shares

काठमाडौँ, २ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने बताएका छन्।

उनले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रुपमा सफल भएको बताउँदै आगामी बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी नै बजेट विनियोजन गरिने बताए ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मातृ तथा नवजात शिशु सिमुलेसन ल्याबको उद्घाटनका अवसरमा उनले भने, “यो ल्याबको प्रभावकारिता दीर्घकालीन रुपमा कायम गर्नुपर्नेछ । यस्ता ल्याब अब सबै प्रदेशमा पनि विस्तार गर्नुपर्छ ।” यो ल्याब अस्पतालको कुपन्डोल शाखामा सञ्चालनमा ल्याइएको छ ।

वन हर्ट वल्र्डवाइडको सहयोगमा निर्माण भएको सिमुलेसन ल्याब मातृ तथा नवजात स्वास्थ्य सेवा प्रदायकहरुको ज्ञान र क्लिनिकल सीपमा दक्षता हासिल गर्नमा प्रयोग हुनेछ ।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले ल्याबको सञ्चालन र प्रभावकारिता वृद्धिमा ध्यान दिनुपर्ने बताए। उनले भने, “जनशक्तिको चुनौती पनि छ । ल्याब सुरु गर्नु ठूलो कुरा हो तर त्योभन्दा ठूलो कुरा निरन्तर रुपमा सञ्चालन गर्नु हो ।”

मातृ शिशु स्वास्थ्य सेवा प्रदायहरुका लागि चिकित्सकीय विधिहरुको अभ्यास गर्न यस प्रयोगशालाले सहजता ल्याउने अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले बताए । उनले भने, “यस प्रयोगशालाले चिकित्सकीय सीप सिक्ने तथा सिकाउने र नयाँ सीपमा दक्षता विकास गर्न एवं उच्च सीपयुक्त रही कार्यसम्पादन गर्न मद्दत पुग्ने अपेक्षा छ ।”

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *