मन्त्रिपरिषद्को बैठक आज पनि नबस्ने, नयाँ स्वास्थ्य सचिव नियुक्तिको निर्णय कहिले होला ?

काठमाडौँ, १९ फागुन । आकस्मिक अवस्थामा बाहेक सामान्य त मन्त्रिपरिषद्को बैठक सातामा दुई पटक सोमबार र बिहीबार बस्ने गर्दछ । तर यसपटक दुईवटा बैठक बस्ने दिन घर्कियो । बैठक गत बिहीबार पनि बसेन भने आज (सोमबार) पनि बस्ने छैन ।
मन्त्रिपरिषद् बैठक बस्न ढिलो गरिरहँदा नयाँ स्वास्थ्य सचिवको नियुक्ती सम्वन्धी विषय थप पेचिलो बन्दै गएको छ ।
यसअघि स्वास्थ्य सचिवको भूमिकामा रहेका डा रोशन पोखरेल गत १२ फागुन देखि अवकाशमा गएका छन् । तर बढुवा समितिले सोही दिन विहान साँझ गरी बसेको दुई चरणको बैठक पछि मन्त्रिपरिषद् समक्ष तीन जनाको नाम सिफारिस गरेको छ । डा संगिता मिश्रा, डा विकास देवकोटा र डा टंक बाराकोटी सिफारिस सूचीमा परेका छन् ।
पछिल्लो पटक नेपाली कांग्रस र नेकपा एमालेको गठबन्धनले बनेको सरकारले मन्त्रिपरिषद्का बैठक बस्ने तथा निर्णय गर्ने बेलामा पनि आपसी समन्वयमा नै गर्ने गरेको बताइन्छ ।
यसअघि पाँच जना भन्दा बढी प्रभावशाली मन्त्रीहरु अनुपस्थित हुने जानकारी दिएका थिए । आज चाहि कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा आयोजना गरेको संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूलाई प्रशिक्षण दिने कार्यक्रमका कारण रोकिएको बताइएको छ ।
‘सत्ता साझेदर दलको आज देखि भैरहवामा प्रशिक्षण छ, पार्टी सभापति शेरबहादुर देउवा पनि त्यहि जानु भएको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी अधिकांश मन्त्रीहरु भैरहवामा छन् । यसले गर्दा प्रधानमन्त्री केपी ओलीले सो बैठक नराखेको हो,’ बालुवाटार स्रोतले भन्यो ।
मन्त्रिपरिषद् बैठक नबस्ने भएपछि नयाँ स्वास्थ्य सचिव को बन्छ भनेर थाहा पाउन अझै केही दिन अनुमानमै बस्नु पर्ने भएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

