स्वास्थ्य सेवामा सबैको पहूँच हुनुपर्दछ : उपराष्ट्रपति यादव

76
Shares

बारा, १३ फागुन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेकोले यसमा सबैको पहूँच हुनुपर्ने बताएका छन् ।

उनले मौलिक हक पूरा गर्न सरकारी तथा नीजि स्वास्थ्य क्षेत्रको थप सक्रिय भूमिका र सेवा भाव अपरिहार्य आवश्यकता रहेको समेत औल्याएका छन् ।

बारा जिल्ला परवानीपुर–४ स्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सव अवसरमा सोमबार अस्पताल परिसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उक्त विषय औल्याएका हुन् ।

उपराष्ट्रपति यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको र यसलाई पूरा गर्न सरकारले आफ्नो नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ भन्दै उनले भने ‘मधेश प्रदेशको मात्र नभई सिंगो नेपालकै एक ऐतिहासिक, सांस्कृतिक, आर्थिक र औद्योगिक नगरी वीरगंजको प्रवेश द्वारमा अवस्थित यो अस्पतालले आफ्नो स्थापना कालदेखि नै उच्चस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउँनु प्रशंसनीय छ ।’

उपराष्ट्रपति यादवले अस्पतालका संस्थापक सदस्यमध्येका सुन्दरमल केडिया र उहाँका परिवारको योगदानको स्मरण गर्दै केडिया आँखा अस्पतालले आँखाको उपचार क्षेत्रमा ठूलो फड्को मारेको र यसले सिंगो मुलुककै गौरव बढाएको बताए ।

उनले अस्पताललाई यो उचाईमा पुर्याउन सहयोग गर्ने नेपाल नेत्र ज्योति संघ, एशियामा आँखा उपचार सम्बन्धी क्षेत्रमा सहयोग गर्ने संगठन (एओसीए), स्थानीय लायन्स क्लब, ओर्बिस इन्टरनेसनल, चिकित्सक, कर्मचारी र दाता केडिया परिवार सहित सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद व्यक्ति गरे ।

उनले अस्पतालले मधेश प्रदेशका विभिन्न जिल्लाहरू र छिमेकी भारतका बिहार एवम् उत्तर प्रदेशका जनसमुदायलाई सेवा प्रदान गर्नु सकारात्मक भएको बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *