‘रोमिङ नर्स’ कार्यक्रम सुरु गर्दै लुम्बिनी प्रदेश सरकार, पहिलो चरणमा समेटियो १३ वटा पालिका

दाङ, २० पुस । लुम्बिनी प्रदेश सरकारले अब विद्यालय तथा समुदायमा एकीकृत ढंगले नर्सिङ सेवा सञ्चालन गर्ने भएको छ । त्यसको नाम सामुदायिक नर्स /रोमिङ नर्स सेवा भनिएको छ ।
स्वास्थ्य मन्त्रालयले गत १६ असोजमा प्रदेश स्तरीय बार्षिक समीक्षा कार्यक्रम २०८०/०८१ सम्पन्न गर्दा लमही घोषणा पत्र जारी गरेको थियो । १५ बुँदे उक्त घोषणा पत्रको दोस्रो नम्बर बुँदामा ‘समुदाय तथा विद्यालयमा रोमिङ नर्स कार्यक्रम सञ्चालन गरिनेछ’ भनिएको थियो ।

सोही घोषणालाई कार्यान्वयन गर्न यसपटक मन्त्रालयले प्रदेशका १३ वटा स्थानीय तह छनौट गरी नमूनाको रुपमा कार्यक्रम सञ्चालन गर्दैछ ।
‘विद्यालय नर्स भनियो तर कतिपय विद्यालयले अन्य विषय पनि बढाउन लगाएको समेत पाईयो त्यसैले अब स्थानीय तहमा रोमिङ नर्स (घुमन्ते नर्सिङ ) सेवा सुरु गर्दैछौँ । यसका लागि अहिले १३ वटा पालिकामा दुई दुई जनाको दरले २६ जना नर्स नियुक्त गर्दैछौँ,’ लुम्बिनीका प्रदेश सचिव डा. बासुदेव उपाध्यायले भने ।
यो कार्यक्रम कहाँ कहाँ लागू हुँदैछ ?
नमूना कार्यक्रमका लागि यसपटक विभिन्न जिल्लाका १३ वटा पालिका छनौट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सो कार्यक्रमका लागि नर्स छनौट गर्न दरखास्त आव्हान समेत गरिसकेको छ । यसपटक निर्देशनालयले प्रत्येक पालिकामा दुई जनाको दरले रोमिङ नर्स करार सेवामा राख्दैछ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका कपिलवस्तुको कृष्णनगर नगरपालिका, मायादेवी गाउँपालिका, रुपन्देहीको दुईवटा कोटाहीमाई गाउँपालिका र रोहिणी गाउँपािलकामा रोमिङ नर्स कार्यक्रम सुरु हुँदैछ ।
यस्तै नवलपरासी सुस्ता गाउँपालिका र पाल्हीनन्दन गाउँपालिका, पाल्पामा माथागढी गाउँपालिका, गुल्मीमा सत्यवती गाउँपालिका, इस्मा गाउँपालिका, अर्घाखाँचीको पाणिनी गाउँपालिकामा बर्दियाको ठाकुरबाबा नगरपालिकामा पनि यो कार्यक्रम सुरु हुँदैछ ।
रोमिङ नर्सको जिम्मेवारी के ?
छनौट भएका रोमिङ नर्सका लागि प्रदेशले स्थानीय तहसंग समन्वय गरेर तालीम तथा कार्यादेश दिनेछ । खासगरी पोषण कार्यक्रमसंगै मिलाएर यो कार्यक्रम अघि बढाइने सचिव डा उपाध्यायले बताए ।
स्कुल हेल्थ नर्स विद्यालयमै मात्रै केन्द्रीत भयो, तर यसमा नर्सहरु विद्यालय देखि समुदायसम्म परिचालन हुनेछन् । पोषण, मनोसामाजिक, खोप, प्रजनन् स्वास्थ्य, आमा सुरक्षा, मनोमरामर्स सेवा, बालविवाह, लगायतका स्वास्थ्यसंग जोडिएका विषय उनीहरुको कार्यादेशमा हुनेछ ।
उनीहरुलाई फिल्डमा परिचालन भएको आधारमा तलव बाहेक फिल्ड भत्ता तथा यातायात खर्च समेत उपलव्ध गराईनेछ । अहिले यो कार्यक्रमका लागि अनमी उत्तीर्ण गरेकाहरुलाई राख्न लागिएको हो ।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रदेशमा आत्महत्या, बाल विवाहको दर बढीरहेको र कुपोषणको दर समेत उच्च रहेकोले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु तथा विद्यालय बाहिर समुदायमा समेत परिचालन भई सचेतना फैलाउने उद्देश्यले रोमिङ नर्सको अवधारणा आएको बताए ।
उनले हाल १३ वटा गाँउ पालिकामा नमूनाको रुपमा यो कार्यक्रम सुरु गर्न लागिएको भन्दै यसको नतिजाको आधारमा आगामी वर्ष प्रदेशका १०९ वटै पालिका सम्म नै यो कार्यक्रम अघि बढाउने योजना रहेको सुनाए ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



