परोपकार प्रसुतीगृह अस्पतालमा ६५ वर्षमा प्रवेश
एक वर्षमा २२ हजार ३७९ ले लिए प्रसूति सेवा

काठमाडौँ, १० भदौ । थापाथालीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट पछिल्लो एक वर्षमा २२ हजार ३७९ जनाल सफलतापूर्वक प्रसूति सेवा लिएका छन् । अस्पतालको ६५ औँ बार्षिकोत्सवको अवसरमा निर्देशक डा श्रीप्रसाद अधिकारीले सो जानकारी दिएका हुन् ।
विसं २०१६ साल भाद्र १० गते श्री कृष्ण जन्माष्टमीको दिन परोपकार संस्थाले स्थापना गरेको ४० शैय्याको अस्पताल अहिले ४८९ शैय्यामा सञ्चालित छ । जसले आज आफ्नो ६५औं वार्षिकोत्सव मनाउँदै छ ।
निर्देशक डा अधिकारीले महिला स्वास्थ्य सम्बन्धि मुलुकको एकमात्र केन्द्रीय विशिष्टीकृत अस्पतालले मातृ शिशु स्वास्थ्यको क्षेत्रमा अमूल्य योगदान दिएको बताए । उनले नवजात शिशु तथा मातृ स्वास्थ्यको विषयमा विभिन्न तालिम तथा कार्यक्रमको लागि अस्पताल अहिले प्रमुख केन्द्रको रुपमा स्थापित भएको दावी गरे ।
के के छन् नयाँ सेवाहरु ?
निःसन्तान तथा आईभीएफ सेवा : त्यसो त प्रसूतिगृह अस्पतालले विसं २०६८ सालमै निसन्तानलाई लक्षित गरी आईभीएफ सेवा सुरु गरेको हो तर विसं २०७२ सालको भूकम्प पछि स्थगन भएको थियो । सो सेवा आर्थिक वर्ष २०७८ ७९ देखि पुन सञ्चालनमा आएको छ । अहिलेसम्म त्यससेबाट ५८ जनाले सन्तान प्राप्त गरेको निर्देशक डा अधिकारीले बताए । गत आर्थिक वर्षमा ९ हजार ११ जना निःसन्तान सम्बन्धि समस्या भएका सेवाग्राहीहरुले ओपीडीबाट सेवालिएको र त्यसमध्ये २२२ जना महिलाहरुले आईयूआई सेवा र २० जना निःसन्तान सेवाग्राहीहरुले आईभीएफ सेवा लिएका छन्।
ओपीडी समय थपियो : अस्पतालले गत १४ साउन देखि ओपिडी समय बढाएको छ । विहान ९ देखि ३ बजेसम्मको जनरल ओपिडी तथा अप्रेसन सेवा अहिले ९ देखि ४ बजेसम्म पुर्याइएको निर्देशक डा अधिकारीले बताए ।
गर्भअवस्थाको शिशुको मुटुको जाँच : गर्भअवस्थाको शिशुको मुटुको जाँच ईको सेवा २०८१ जेष्ठ १ देखि नै संचालनमा आईसकेको छ। भ्रुण सम्बन्धी विकलांग अवस्थाको पहिचानको लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत सम्बोधन गरेको हुँदा यस अस्पतालमा एनोमोली स्क्यान निरन्तर भइरहेकोमा हाल अस्पतालमा नियमित तवरबाट गर्भअवस्थामा रहेको शिशुको मुटुको जाँच फेटल इको तथा मेटर्नल इको सम्बन्धि सेवा संचालनमा आएको छ।
बंशाणुगत रोगको पहिचान गर्न न्यू बर्न स्क्रिनिङ: अस्पतालमा नवजात शिशुको बंशाणुगत रोगको पहिचान गर्न न्यू बर्न स्क्रिनिङ्ग सेवा २९ साउन देखि संचालनमा ल्याईएको निर्देशक डा अधिकारीले बताए । यसबाट जन्म पश्चात हुने मानसिक सुस्तता, दीर्घरोग एवं नवजात तथा बाल मृत्युदर घटाउन थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
एन्टिवडी टेष्ट : यस अस्पतालको रक्तसंचार सेवालाई अझ गुणस्तरीय बनाउन एन्टीवडी टेष्टसमेत सञ्चालनमा ल्याईएको छ । ब्लड ट्रान्स्फ्यूजन सम्बन्धी हुने जटिलता न्यूनीकरण गर्न मद्दत पुग्ने बताइएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




