स्वास्थ्य मन्त्रालयमा कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्छ : सांसद केसी
काठमाडौँ, ३१ जेठ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताएका हुन् ।
उनले तीन करोड जनसङ्ख्या भएको देशमा दुई हजारभन्दा बढी डाक्टर नभएको भन्दै सरकारले स्वास्थ्य जनशक्तिको न्यूनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक रहेको बताए उनले हरेक गाउँ–गाउँमा स्वास्थ्यकर्मी पुर्याउन आवश्यक रहेको भन्दै दूरदराजमा स्वास्थ्य संस्था भए पनि जनशक्ति र सिटामोलको अभाब रहेको बताए ।
सांसद केसीले भने, ‘स्वास्थ्य जनशक्तिको न्यूनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक छ । हरेक गाउँ–गाउँमा स्वास्थ्यकर्मी पुर्याउन आवश्यक छ । तर दुरदराजमा स्वास्थ्य संस्था भए पनि जनशक्ति र सिटामोल समेत छैन । जुन खालको परिवेश अहिले जुन छ । यो परिवेशबाट देशलाई उन्मुक्ति दिनेगरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी परिचालन आवश्यक छ ।’
सम्पर्क इमेल : [email protected]