सरकारी अस्पतालको सेवा प्रवाहमा सुधार गर्न सांसद बरालको माग
काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले) की सांसद सुनिता बरालले सरकारी अस्पतालको सेवा प्रवाहमा सुधारको माग गरेकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सांसद बरालले सो कुरा बताएकी हुन् ।
सांसद बरालले अहिलेपनि सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको भन्दै तत्काल त्यस्तो बाधा हटाउन सरकारको ध्यानाकार्षण गराएकी छन् ।
उनले भनिन्, आज हाम्रा सर्वसाधारण नागरिकहरू सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने अवस्था छ । ९ बजे ओपीडी खुल्छ भने ५ बजेदेखि लाइन बस्ने ती नागरिकहरूका लागि सोच्नुपर्ने अवस्था छ । दुई–चारवटा काउन्टर थपेर स्वास्थ्य सेवा सहज बनाउनका लागि अनुरोध गर्दछु । बिरामी दर्ता गर्दा एक पटक लाइन बस्ने, रिपोर्ट लिँदा अर्को पटक लाइन बस्ने, डाक्टरलाई फेरि रिपोर्ट देखाउँदा अर्को पटक लाइन बस्ने, पटक–पटक लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ।’
सम्पर्क इमेल : [email protected]