बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको लफडा:

सरुवा भएर आएका डा. श्रेष्ठलाई मन्त्रालयमा हाजिर नगराएपछि स्वास्थ्य सचिवसँग कारण माग्यो सर्बोच्चले

काठमाडौँ, १० जेठ । सर्बोच्च अदालतले सरुवा भई आएका डा. प्रवीण श्रेष्ठलाई हाजिर गर्न दिन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ ।

एघारौँ तहका डा. श्रेष्ठलाई यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बागमती प्रदेशको स्वास्थ्य सचिवको रुपमा सरुवा गरेको थियो ।

तर, त्यहाँका सचिव बद्रीबहादुर खड्काले सामान्यको निर्णय कार्यान्वयन नगर्न भन्दै सर्बोच्चमा रिट दायर गर्दै आफ्नो पक्षमा अन्तरिम आदेश लिन सफल भएका थिए ।

आफू सचिव कायम रहेको अवस्थामा सचिवका रुपमा सरुवा भएका डा. श्रेष्ठलाई हाजिर गर्न नमिल्ने भन्दै फर्काइदिएका थिए ।

डा. श्रेष्ठले हाजिर गर्न पाउँ भन्दै गत मंगलबार स्वास्थ्य मन्त्रालय बागमती प्रदेश र स्वास्थ्य सचिव बद्रीबहादुर खड्कालाई विपक्षी बनाई सर्बोच्चमा रिट दायर गरेका थिए ।

बुधबार  उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्बोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले डा श्रेष्ठलाई हाजिर गर्न दिन मन्त्रालय र सचिवको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै हाजिर गर्न किन नदिएको भन्दै प्रदेश मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

‘सरुवा भएर गएको थिएँ, त्यहाँ हारिज हुन नै पाएँन । त्यसपछि हाजिर हुन पाउँ भनेर रिट दायर गरेको थिएँ । सर्बोच्चले हाजिर हुन दिनु भनेको छ,’ डा श्रेष्ठले भने ।

उनले सर्बोच्चको अन्तरिम आदेश हाजिर हुन दिने विषयमा मात्रै बोलेको र सचिव पदमा विषयमा नबोलेको बताए ।

‘उताबाट पनि अन्तरिम आदेश लिएर सो पदमा बसेको अवस्था छ । त्यसैले अहिले मैले सचिवको रुपमा हाजिर गर्ने भनिएको होईन । मात्रै हाजिर गर्न पाउँ भनेको हो । त्यो आदेश भएको छ,’ डा. श्रेष्ठले भने ।

यस विषयमा सचिव खड्कासंग कुरा गर्ने प्रयास भने सफल हुन सकेन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *