एमालेले माग्यो स्वास्थ्यमन्त्री सहित ३ मन्त्रीको राजीनामा

काठमाडौँ, ११ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत सहित तीन मन्त्रीको राजीनामा मागेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराईले विभिन्न घटनामा मुछिएका तीन मन्त्रीको राजीनामा मागेका हुन् । साथै उक्त घटनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने उनको माग छ ।
एमालेले अख्तियारको छानबिनमा परेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा मागेको हो।
साथै दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्मा पेस गर्न माग गर्दै उनले सोही प्रतिवेदनले दोषी देखाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताए ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै एमालेका सांसद रघुजी पन्तले पनि स्वास्थ्यमन्त्री सहित तीन मन्त्रीको राजीनामा माग गरेका थिए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



