सरकारको नयाँ तथ्याङ्क : नेपालमा मुटुका बिरामीको संख्या १९ हजार २६२ मात्रै !

काठमाडौँ, ८ मंसिर । विभिन्न अनुसन्धानले दिएको प्रतिवेदनलाई आधार मानेर गणना गर्ने हो भने नेपालमा बार्षिक थपिने मुटुरोगीको संख्या नै लाखौँ पुग्छ । तर पछिल्लो सरकारी तथ्यांकमा भने मुटुरोगीको संख्या १९ हजार २६२ मात्रै देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको आयोजनामा गत बुधबारबाट जारी राष्ट्रिय संयुक्त वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा नसर्ने रोग कार्यक्रम अन्तर्गत मुटुरोगीहरुको नयाँ तथ्यांक प्रस्तुत गरिएको हो । त्यसो त सो तथ्यांकलाई प्रस्तुत गर्ने अधिकारीहरुले नै सही ठम्याएका छैनन् । उनीहरुले आफूहरुलाई विवरण अपुरो छ भन्ने शंका लागे पनि तथ्यांक सार्वजनिक गर्न बाध्य भएको बताएका छन् ।

समीक्षा बैठकमा स्वास्थ्य सेवा विभागले प्रस्तुत गरेको नसर्ने रोग सम्बन्धी विवरणमा आर्थिक बर्ष २०७९/ ८० मा कार्डियो भास्कुलर रोगका बिरामीको संख्या नेपालमा १९ हजार २६२ भएको उल्लेख छ । मधुमेह रोगका बिरामीको संख्या ३ लाख १२ हजार ३४२ जना र क्यान्सर रोगका विरामीको संख्या ६७ हजार ३८२ जना रहेको उल्लेख छ ।

देशभरीबाट स्वास्थ्य सम्वन्धी तथ्यांक संकलन गर्ने विभाग अन्तर्गतको हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एचएमआईएस)ले उपलव्ध गराएको बिबरण नै संकास्पद देखिए पनि अधिकारीहरुले त्यसलाई करेक्सन गर्ने वा एकीन विवरण संकलन गर्ने तर्फ लागेको देखिदैन ।

बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला एचएमआईएसले दिएको सो विवरण अपुरो भएको भन्न गाह्रो नहुने बताउँछन् ।

‘कार्डियो भास्कुलर डिजिजमा धेरै पर्दछन् । जस्तो कि हाम्रो अनुसन्धानले के भन्छ भने जन्मेका १ प्रतिशत बच्चाहरुमा मुटुको कुनै न कुनै जन्मजात रोग हुन्छ, नेपालमा बार्षिक ५ लाख देखि ७ लाख बच्चा जन्मिन्छन् । अर्को स्कुले उमेरका बालबालिका अर्थात ५ देखि १८ बर्ष उमेर समूहका बालबालिकामा प्रति हजारमा एक जनामा बाथ मुटुरोगको समस्या भएको नेपालमै गरिएको अनुसन्धानले देखाउँछ । कोरोनरी हार्ट डिजिजमा हाइपोटेन्सन सहित जोड्यो भने त बयस्क उमेरका २५ प्रतिशत जनसंख्यालाई उच्च रक्तचाप छ यसलाई मुटुरोग मान्ने कि नमान्ने ? त्यसैले एचएमआईएसको विवरण अपुरो छ भनेर भन्न गाह्रो हुँदैन,’ उनले भने ।

डा कोइरालाले तथ्यांक आएन वा पठाएन भनेर अपुरो विवरण दिनु राम्रो नहुने तर्क गर्दछन् । यसका लागि सरकारले संयन्त्रलाई अलि बलियो बनाउनु पर्ने देखिन्छ । किनभने नयाँ नीति बनाउँनका लागि बास्तविक तथ्यांक हुनु अति आवश्यक छ, डा कोइरालाको भनाई छ ।

यता एचएमआईएसका प्रमुख कपिल तिमल्सिनाले मुटुरोगीको विवरण अपुरो हो भन्ने स्विकार्छन् ।

‘धेरै अस्पतालहरुले विवरण पठाएका छैनन् । मुटुकै उपचार गर्ने ख्याति कमाएका अस्पतालहरुबाट समेत उल्लेख्य विवरण आएन । त्रिवि शिक्षण अस्पतालको विवरण सून्य छ, मनमोहन कार्डियोको विवरण ८ प्रतिशत मात्रै पठाइएको छ । यसरी विवरण पठाउनै अटेरी भएपछि पूर्ण विवरण कसरी होस्,’ प्रतिप्रश्न गर्दै उनी भन्छन् ।

तर, सरकारले एकीन तथ्यांक लिनकै लागि भनेर खडा गरेको निकायले विवरण पठाएनन् भनेर अपुरो विवरण सार्वजनिक गर्न मिल्ला त ? यसले गतल तथ्य र नजिर स्थापित त हुँदैन ? समीक्षा बैठकले यस विषयमा कति गम्भीरता देखाउँछ त्यो भने हेर्न बाँकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *