शहरी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नसर्ने रोगबारे प्रशिक्षण

काठमाडौँ, २६ कात्तिक । शहरी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नसर्ने रोग सम्वन्धी प्रशिक्षण दिईएको छ । विश्व मधुमेह दिवसको सन्दर्भ पारेर नेपाल मधुमेही समाज र नेपाल एनसीडी एलायन्सको संयुक्त आयोजनामा शनिबार काठमाडौँमा प्रशिक्षण दिइएको हो ।

प्रशिक्षण लिनका लागि महानगरपालिकाका ३२ वटै वडाबाट दुई जनाको दरले ६४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता थियो ।

‘नसर्ने रोगको जोखिम शहरी क्षेत्रमा झनै बढी छ । यसको न्युनिकरणका लागि अब हरेक व्यक्ति तथा समुदाय सचेत हुन जरुरी छ । तर त्यसको अगुवाई कसले गर्ने ? हाम्रो घर टोल छिमेकमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई यसबारेमा सचेत गराउन सकियो भने त्यसको प्रभाव टोल छिमेकमा पनि पर्न सक्छ । यहि मुख्य उदेश्यका साथ हामीले प्रशिक्षण कार्यक्रम राखेका हौँ,’ समाजका अध्यक्ष शिब श्रेष्ठले भने ।

नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीले महिला स्वास्थ्य स्वयंसेविकाहरुकै कारण नेपालले इमुनाइजेसन कार्यक्रममा असाधारण सफलता प्राप्त गरेको भन्दै अब बढ्दो क्रममा रहेको नसर्ने रोगको जोखिम कम गर्न पनि यो जनशक्तिको व्यवस्थित रुपमा परिचालन गर्नु पर्ने बताए ।

‘उहाँहरु टोल छिमेकमा पुगेर स्वास्थ्य अवस्थाबारेमा बुझ्न सक्ने र सल्लाह समेत दिन सक्ने समूह भएकोले स्वयंसेविकाको उपस्थिति महत्वपूर्ण हुन्छ तर त्यसअघि उहाँहरुलाई प्रशिक्षणको आवश्यकता रहन्छ,’ डा रेग्मीले भने ।

कार्यक्रममा बरिष्ठ चिकित्सक डा मृगेन्द्रराज पाण्डे, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग सेक्सन प्रमुख डा फडिन्द्र बराल, काठमाडौँ महानगरपालिकाका स्वास्थ्य हेर्ने बलराम त्रिपाठी, नेपाल एनसीडी एलायन्सका उपाध्यक्ष डा अभिनव बैद्य लगायतले नसर्ने रोगको जोखिम र नियन्त्रणका उपायका बारेमा बोलेका थिए ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंंसेविकाहरुलाई मधुमेह, मुटु, मिर्गौला र क्यान्सरको बारेमा विषय विज्ञहरुले अभिमुखीकरण गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *