नसा फुलेको अवस्था (भेरिकोस भेन) के हो ? कसरी गर्ने उपचार ?

– डा. सन्दीपराज पाण्डे

हामीमध्ये धेरैले देखेका छौँ, कतिपयको खुट्टाको नसा अस्वभाविक रुपमा फुलेको हुन्छ । कतिको खुट्टाको पिडौँलामा निलो रङमा नसा जेलिएको देखिन्छ । यसैलाई भनिन्छ भेरिकोस भेन्स अर्थात फुलेका नसाहरु ।

यस्तो समस्या के कारणले हुन्छ ?

यहि कारणले हुन्छ भन्ने छैन तर धेरै उभिने मानिसहरुमा यस्तो समस्या बढी हुन्छ । सुत्केरी अवस्थामा पनि यस्तो समस्या देखिन्छ । मोटापनाको शिकार भएका व्यक्तिलाई पनि नसा फुल्ने समस्याले सताउँछ ।

त्यसबाहेक यो समस्या जीनबाट सर्ने अर्थात बंशाणुगत पनि हो । जस्तो बाबा आमा हजुरबुवा हजुरआमालाई यस्तो समस्या छ भने सन्तानलाई पनि हुने सम्भावना रहन्छ ।

पुरुष भन्दा महिलालाई बढी  ?
यो समस्या महिला पुरुष दुबैलाई हुन्छ । तर बढी जसो महिलालाई भएको पाइन्छ । नसा फुल्ने समस्या जुनसुकै उमेरकालाई पनि हुनसक्छ । तर बढी जसो ४० देखि ५० बर्ष उमेरका व्यक्तिहरुमा देखिन्छ ।

नसा फुल्ने समस्या बढी खुट्टामा देखिन्छ तर यस बाहेक अन्य भागमा पनि देखिनसक्छ । जस्तै छाती, पेट, हात, योनी तथा मलद्धार वरिपरि पनि यस्तो समस्या बढी हुनसक्छ ।

उपचार पद्धती के हो त ?

नसा फुल्ने समस्या भएका विरामीहरुको लागि धेरै खाले उपचार पद्धती छ ।  जस्तो चिरफार अर्थात अप्रेसनद्धारा गरिने उपचार विधि पनि छ । विना अप्रेशन गरिने उपचार विधि पनि छ ।

चिरफार अर्थत शल्यक्रिया विधि नेपालमा धेरै पहिले देखि नै चलि आएको विधि हो । अहिले त कम चिरफार गरी उपचार गर्ने विधि आईसकेको छ । ती मध्ये केही विधिहरु यसप्रकार छ :

पारम्परिक सर्जरीहरु :
यसमा ‘साफेनो फेमोरल जङसन’ नजिक चिरेर नसा बाधिन्छ । साथै ‘स्ट्रिपिङ’ पनि गरिन्छ । तर यी पद्धतीहरु बढी मोटो, तथा ठूला ठूला नसा(भेरिगोज) भएकाहरुमा गाह्रो हुँदै गयो । जसका कारण नयाँ पद्धतीको विकास गरियो । अहिले विना चिरफार अप्रेसन गर्ने पद्धतिको विकास भएको छ । ती मध्ये केही पद्धतीहरु यस्ता छन् ।

थर्मल प्रविधिहरु ( रेडियो फ्रिक्वेन्सी र लेजर ) : यी उपचार पद्धतीहरु चिरफारको नयाँ विकल्पहरु हुन् । यसमा समस्यामा भएको ठाँउमा छिराएर तापले नसालाई भित्रै ‘भास्कुलर’ अल्ट्रासाउन्डमा हेरि ‘अव्लेसन’ गरिन्छ ।

यो उपचार सामान्य एनेस्थेसियामा पनि गर्न सकिन्छ । उपचार पछि विरामी त्यहि दिन हिडन सक्छ । घर फर्कन पनि सक्छ । अर्कोदिनबाट साधारण काम काज गर्न सक्छ । यी सेवाहरु नेपालमा उपलव्ध छन् ।

फोम स्केलेरोथेरापी :  यसमा नसालाई जमाउने औषधिहरु ‘क्यानुला’ मार्फत राखेर नसालाई जमाउने गरिन्छ ।

विना थर्मल प्रविधिहरु ( क्ल्यारि भेन र भेन सेल):  यी पद्धतीहरु विना तापक्रम नसालाई सिल गर्ने गरिन्छ । तर यी सेवाहरु नेपालमा अझै आउन बाँकी छ ।

# डा. पाण्डे कन्सलटेन्ट भास्कुलर एण्ड इन्डोभास्कुलर सर्जन हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *