आज विश्व पोलियो दिवस

‘पोलियो मुक्त छ नेपाल तर घटेको छैन् चुनौती’

काठमडौं, ७ कात्तिक । आज २४ अक्टोबर अर्थात विश्व पोलियो दिवस । संसारभर विविध जनचेतनामुलक कार्यक्रम गरी मनाईदैछ । यसवर्षको नारा ‘आमा र बालबालिकाहरुको लागि स्वस्थ भविष्य’ भन्ने नारा तय गरिएको छ ।

सन् १९८८ को विश्व स्वास्थ्य सभाले संसारबाट पोलियो रोग उन्मुलन गर्ने प्रतिवद्धता जाहेर गरेको थियो । सोही अभियानमा नेपाल पनि निरन्तर सहभागी हुँदै आएको छ ।

नेपालले पनि अन्य देशले जस्तै पोलियो उन्मुलनका रणनीतिहरु नियमित रुपमा खोप सेवा, पुरक थप खोप अभियान, अतिशिघ्र लुलोपनको निगरानी, बाताबरणीय निगरानीको अवलम्बन गर्दै आईरहेको छ ।

पोलियोमा नेपालको अवस्था यस्तो थियो

नेपालमा सन् १९९८ देखि सन् २०१० सम्म ३२ जना पोलियोको संक्रमण पुष्टि भएको थियो । त्यसपछिका बर्षहरुमा कुनै पनि पोलियोको संक्रमण फेला परेको छैन् ।

नेपालको अन्तिम स्थानीय पोलियो केस सनु २००० मा ४ वटा केश फेला परेको थियो । सन् २००१ देखि सन् २००५ सम्म कुनै नयाँ केश देखा परेको थिएन । तर सन् २००५ देखि सन् २०१०सम्म हरेक वर्ष ४ देखि ६ ओटाका दरले आयातित पोलियो केशहरु फेला परेका थिए ।

अन्तिम पोलियो केश सन् २०१० मा भेटिएको थियो । लगातार चार वर्ष नयाँ केश नभेटिएपछि सन् २०१४ मा दक्षिण एशियाका अन्य मुलुकहरुसंगै नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरियो ।

स्वास्थ्य सचिव डा रोशन पोखरेल भन्छन्, ‘तर हामी अझै पनि पोलियोको जोखिमबाट मुक्त भइसकेका छैनौँ । केही देशहरुमा पोलियो अझै पनि विद्यमान छ । अन्तराष्ट्र्रिय आवत जावतले यो रोग सर्ने सम्भावना बढाएको छ । हालै संयुक्त अधिराज्य तथा संयुक्त राज्य अमेरिका जस्ता देशमा गरिएको बाताबरणीय निगरानीले पोलियोका भाइरसहरु पानीमा भेटिएकोले पोलियो उन्मुलनका लागि चुनौती थपिएको छ । यस्तै अफ्रिका केही देशहरुमा पुन संक्रमण फेलन सक्ने सम्भावना देखिएको छ ।’

उनी अगाडी थप्छन्, ‘त्यसैले सबै शिशुहरुलाई सबै खोप (मुख तथा सुईबाट) समयमै दिनुका साथै पोलिको खोपको कभरेज वडा स्तरमा ९० प्रतिशत भन्दा बढी राख्नुपर्ने अवस्था रहेको छ । जसले आमा र बालबालिकाहरुको लागि स्वस्थ भविस्य निर्माण पार्न सघाउ पुग्छ ।’

नेपाल पोलियो मुक्त भएपनि संसारबाट पोलियो उन्मुलन नभएसम्म पुन संक्रमण फैलिन सक्ने जोखिम रहन्छ । तयसकारण पोलियोको चुनौतीलाई सामना गर्न सबैको प्रतिवद्धता र समन्वयको आवश्यकता अपरिहार्य रहन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *