डा. बुद्धिमानको घोषणा कार्यान्वयनमा, ठेलागाडा खोसिएकी सर्मिलाको उपचार केडीसीमा भयो नि:शुल्क

काठमाडौँ, ६ कात्तिक ।  दुई साता अघि काठमाडौँ महानगरपालिकाबाट खटिएको नगर प्रहरीको टोलीले थापाथली क्षेत्रबाट पानीपुरी र चटपटे बेच्दै गरेको एउटा ठेला गाडा उठायो । तर ठेलागाडा नियन्त्रण लिने क्रममा निकै नै हृदयविदारक दृश्य देखिएको थियो ।

ठेला गाडामा चटपटे र पानीपुरी बेच्ने गरेकी लमजुङकी सर्मिला तामाङ (३४)ले नगरप्रहरीसंग ठेलागाडा नलगिदिन निकै अनुनय विनय गरेकी थिईन । उनले प्रहरीसंग रुदै भनेकी थिईन, ‘मेरो दायाँ हात भाँचिएर स्टिल राखिएको छ । मैले आफ्नो उपचारका लागि, पाखुरामा राखिएको स्टिल झिक्नका लागि र घर परिवार पाल्नका लागि यो सानो व्यवसाय थालेकी थिएँ । यो ठेलागाडा पनि विदेशमा बस्ने नेपालीको सहयोगमा प्राप्त भएको हो । बरु यहाँ यसरी ठेलामा व्यापार गर्न पाईदैन भनेर भनेको भए हुन्थ्यो म आउँदिनथे ।’

ठेलागाडा समाएर रोएको त्यो दृश्यले धेरैको मन छोयो । त्यसमध्येका एक थिए डा. बुद्धिमान श्रेष्ठ ।

कान्तिपुर डेन्टल कलेज तथा जनरल हस्पिटलका सञ्चालक समेत रहेका डा. श्रेष्ठले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै लेखिदिए, यो बैनीलाई म सहयोग गर्न तयार छु, केडीसी अस्पताल बसुन्धारा काठमाडौँले हातको स्टिल निकाल्न सहयोग गर्न तयार छ ।

घोषणा गरेको दश दिनमै डा. श्रेष्ठले प्रतिवद्धता पुरा गरेका छन् ।

केडीसी अस्पतालमा उपचाररत तामाङ

गत विहीबार केडीसी अस्पताल आएर भर्ना भएकी तामाङको शुक्रबार शल्यक्रिया गरी हातको स्टील निकालिएको छ । अर्थोपेडिक सर्जन डा सविन पोखरेल नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो । अस्पतालका एचआर समेत रहेकी डा. ज्योत्सना पाठकले तामाङको शल्यक्रिया सफल भएको र सोमबारसम्म डिस्चार्ज गर्ने तयारी भएको जानकारी दिईन् ।

अस्पतालमा उपचाररत तामाङले केडीसीले आफूलाई निकै ठूलो गुन लगाएको प्रतिक्रिया दिईन् ।

‘दुई वर्ष अघि माइतीबाट आउँदा भक्तपुरको सल्लाघारीमा गाडी दुर्घटनामा परेर दायाँ हात भाँचिएको थियो । डाक्टरले त्यसबेला एक वर्ष पछि निकाल्न पर्छ भन्दै पाखुरामा स्टील राखिदिएका थिए । तर पैसाको अभावमा दुई वर्षसम्म पनि निकाल्न सकेको थिईन । तर अहिले मैले निशुल्क रुपमा शल्यक्रिया सहितको औषधि उपचार गर्न पाएँ । निकै नै धन्य छु,’ उनले भनिन् ।

अस्पतालकी डा पाठकले तामाङको उपचारमा लाग्ने सबै खर्च अस्पतालले व्यहोरेको बताईन् । ‘शल्यक्रिया, औषधि, अस्पताल बेड चार्ज देखि बिरामी र कुरुवाको खाना समेत अस्पतालले व्यहोरेको छ । कुनै शुल्क तिर्नु पर्दैन,’ उनले भनिन् ।

हाल स्याङ्जा क्षेत्र नं २ (ख)बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका लागि उम्मेद्धार बनेका केडीसीका अध्यक्ष डा. श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तरगर्त तामाङको निशुल्क उपचार गरिदिएको बताए । ‘सामाजिक सञ्जालमा मैले जो हृदयविधारक दृश्य देखें मेरो मन छोयो र तत्कालै उपचार गरिदिने घोषणा गरें र घोषणाको कार्यान्वयन पनि गरिदिएँ,’ उनले भने ।

उनले आफूले धेरै त्यस्ता दुखी गरीव तथा असाहायको निशुल्क उपचार गरिदिएको समेत सुनाए ।

‘हामीले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गर्दै आएका छौँ । निशुल्क स्वास्थ्य शिविर र निशुल्क उपचार पनि हुँदै आएको छ । त्यसैको निरन्तरता हो सर्मिला तामाङ,’ उनले छोटो प्रतिक्रिया दिने क्रममा भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *